पोखरा, २८ कार्तिक। नेपालको तराई क्षेत्रको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व ‘छठ पर्व’ यस वर्ष पनि पोखरामा भव्यताका साथ मनाइँदैछ । सूर्य देव र छठी मैयाको उपासना गरी धुमधाम गरी मनाईने यो पर्वका लागि पोखराका चार प्रमुख स्थानमा पूजास्थल निर्माण गरी आवश्यक तयारी पूरा गरिएको छ ।
पोखराको बैदामस्थित फेवाताल किनारको केदारेश्वर मन्दिर परिसर, नदीपुरस्थित नारायणस्थान मन्दिर परिसर, भद्रकालीको माछापोखरी तथा फूलबारी र भलामको बीचमा पर्ने कालीखोलामा छठ पूजाका लागि घाट तयार पारिएको छ ।
नेपाल-भारत ‘एनबी’ व्यवसायी समितिका अध्यक्ष भुनेश कुमारका अनुसार चारवटै पूजास्थलको सरसफाइ सकिएको र झिलिमिली बत्ती तथा टेन्ट राखेर व्रतालु र दर्शनार्थीका लागि विशेष प्रबन्ध मिलाई सकिएको छ । पूजालाई मर्यादित र व्यवस्थित बनाउन चारवटै ठाउँमा छुट्टाछुट्टै समिति गठन गरिएका छन् । ती समितिले व्रतालु र सहभागीबाट स्वेच्छिक सहयोग संकलन गरी व्यवस्थापनको काम गरिरहेका छन् ।
पोखरामा यो वर्ष १ हजारदेखि १ हजार ५ सय जनासम्म व्रतालुले छठको व्रत बस्ने अनुमान गरिएको छ । पूजाको अवलोकन तथा दर्शन गर्न आउनेहरूसहित करिब १० हजार जनाको सहभागिता रहने अपेक्षा गरिएको छ ।
विभिन्न रोजगारी तथा पेशा व्यवसायका सिलसिलामा पोखरामा बसोबास गर्दै आएका तराई-मधेस समुदायका नागरिकलाई लक्षित गरी केही वर्षयता यहाँ छठ पूजाको प्रबन्ध गरिँदै आएको छ । ‘छठ पूजा गर्न घर जान नसक्ने र नभ्याउनेका लागि पोखरामै बसेर पूजा गर्ने व्यवस्था गर्दै आएका छौँ । यस वर्ष पनि भव्य रूपमा पर्व मनाउन चार स्थानमा तयारी गरेका छौँ ।’ अध्यक्ष कुमारले भने ।
सूर्यदेव र छठी माताको आराधना गरी मनाइने यो पर्वमा व्रतालुले निराहार उपवास बसी अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ । परिवारको सुख, शान्ति, समृद्धि, सन्तानको दीर्घायु तथा मनोकामना पूरा हुने धार्मिक विश्वासका साथ यो व्रत बस्ने गरिन्छ ।
छठ पूजाको अवसरमा घाटहरूलाई केराका बोट, उखु, अदुवा, भोगटे, सुन्तला र अन्य विभिन्न फलफूलले आकर्षक रूपमा सिँगारिन्छ । यो पर्व शुद्धता, संयम, प्रकृतिसंगको सम्बन्ध र परिवारको कल्याणको प्रतीकका रुप मानिन्छ ।
सरकारले छठ पर्वको अवसरमा कार्तिक २९ गते आईतबार र ३० गते सोमबार सार्वजनिक बिदा दिएको छ।





