पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंहचोकसम्म निःशुल्क सटल बस सेवा सुरु
  • जरूवाखबर

  • पोखरा । नेपाली नयाँ बर्षको अवसर पारी पोखरामा निःशुल्क इलेक्ट्रिक सटल बस सेवा सुरु भएको छ ।

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अम्मरसिंह चोकसम्म निःशुल्क इलेक्ट्रिक सटल बस सेवा सुरु गरिएको हो । विमानस्थलबाट मुख्य चोक क्षेत्रमा यात्रुलाई ल्याए पछि विभिन्न विकल्पमा आफ्नो गन्तव्यमा पुग्न सहज होस् भन्ने उद्धेश्यले सटल बस सञ्चालन गरिएको जनाइएको छ ।

    उक्त सेवाको पोखरा महानगरका प्रमुख धनराज आचार्यले मंगलबार औपचारिक रूपमा सुरु गरे। पोखरा महानगरपालिकाको पहलमा महानगर यातायात प्रालि, कृषि बिकास बैक, कामना सेवा विकास बैकको सहकार्यमा सेवा सुरु गरिएको हो।

    पाइलट परियोजनाका रूपमा असार मसान्तसम्म यो सेवा निःशुल्क प्रयोग गर्न पाइने छ । त्यसपछि भने न्यूनतम शुल्कमा नियमित रूपमा सञ्चालन गर्ने योजना बनाइएको छ।

    मेयर आचार्यका अनुसार पोखरा विमानस्थलदेखि लेकसाइड वा शहरका विभिन्न ठाउँमा जाँदा महँगो ट्याक्सी भाडाको गुनासो बढेपछि यसको विकल्पका रूपमा यो सेवा सुरु गरिएको हो। पहिलो चरणमा २ वटा बसबाट उक्त सेवा संचालन हुने भएको आचार्यले बताए ।

    ३२ सिटे इलेक्ट्रिक बस बिहान ६ बजेदेखि राति १० बजेसम्म दैनिक दुई वटा बसले निरन्तर सेवा दिने व्यवस्था मिलाइएको छ।

  • १ बैशाख २०८३, मंगलवार २१:२८ प्रकाशित