पश्चिमी वायुको प्रभाव: मौसम चिसियो,उच्च पहाडी र हिमाली क्षेत्रमा चिसो अझ बढ्ने
  • जरूवाखबर

  • काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव फैलिएको छ । यसै कारणले गर्दा हिमाल र पहाडका केही भूभागमा आंशिक बादल देखिएको छ । मौसमी प्रणालीमा आएको यो फेरबदलले आगामी केही समयकालागि जनजीवनमा असर पार्ने देखिन्छ ।

    मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । यीबाहेकका अन्य हिमाली र पहाडी भेगमा पनि आंशिक बादल छाउनेछ । मधेस प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बादली रहनेछ भने बाँकी तराईका भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

    कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । यसले गर्दा उच्च पहाडी र हिमाली क्षेत्रमा चिसो अझ बढ्नेछ

    आज राति पनि हिमाली र पहाडी भूभागमा आंशिक बादली कायम रहनेछ । तराईका अधिकांश भूभागका साथै उपत्यका र खोलाका खोँचहरूमा बिहानपख बाक्लो हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ । यसबाट यातायात आवागमन र जनजीवन प्रभावित हुन सक्ने अनुमान गरिएको छ । रासस

  • २९ कार्तिक २०८३, शनिबार १२:५५ प्रकाशित