पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार फरक फरक आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लागु औषध किनबेच गरीरहेका एक जना र महिलाहरुलाई यौन कार्यमा लगाएको आरोपमा २ जना रहेका छन् ।
सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले सिम्पानीबाट पोखरा ९ नागढुंगा बस्ने ३५ वर्षिय महेश उप्रेतीलाई पक्राउ गरेको हो ।
उनको साथबाट डाईजपाम १२ एम्पुल, फेनेरागन १२ एम्पुल, ब्रुफिनुर्फिन १२ एम्पुल गरी जम्मा ३६ एम्पुल लागू औषधका साथै मोवाईल २ थानर नगद ११ हजार रुपैयाँ बरामद गरिएको प्रहरी नायव उपरिक्षक हरीबहादुर बस्नेतले जानकारी दिए ।

यसैगरी मंगलबार नै राम्रो तलबसहित होटलमा काम लगाइदिने प्रलोभन देखाएर महिलाहरूलाई जबरजस्ती यौन कार्यमा लगाएका २ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत घर भई हाल पोखरा महानगरपालिका १४ चाउथे बस्ने २४ वर्षीय राधे श्याम शाह र बागलुङको काठेखोला गाउँपालिका ४ घर भई पोखरा १ बगर बस्ने २८ वर्षीय खेमु थापा छन् । उनीहरूलाई पोखरा ८ जाल्पारोडबाट पक्राउ गरिएको हो ।
जबरजस्ती अनैतिक कार्यमा लगाइएका ४ महिलालाई पनि उद्धार गरिएको प्रहरीले जनाएको छ।
खाजा घरहरूमा अनैतिक गतिविधि भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली खटिएको थियो । जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त टोलीले छापा हानेको हो ।
आर्थिक अवस्था कमजोर भएका महिलाहरूलाई खोजेर यौन कार्यमा लगाउने गरेको प्रारम्भिक रिपोर्टले देखाएको छ ।
पक्राउ परेका दुवै जनालाई कास्की जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी नायव उपरिक्षक बस्नेतले जानकारी दिए ।






