पोखरा, १८ वैशाख । आज १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस, पोखरासहित विश्वभर मनाइँदै छ ।
‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित सन् १८८६ देखि सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विविध कार्यक्रम गरी मनाईदैछ ।
फ्रान्सको पेरिसमा सन् १८८९ मा सम्पन्न विश्वका श्रम सङ्गठन एवं श्रमिक नेताहरूको सम्मेलनको निर्णय गरेअनुरूप सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै आइएको छ ।
मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हक अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गर्दै आएका छन् ।
विसं २००७ मा भएको विराटनगर मजदुर आन्दोलनसँगै नेपालमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको इतिहास छ । विसं २०४६ को राजनीतिक परिवर्तनपछि सरकारले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सार्वजनिक बिदा दिन थालेको हो ।
नेपालमा ६० को दशकपछि सरकारी तवरबाटै विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाउने गरिँदै आइएको छ ।
यद्यपि नेपालका देशका ८० प्रतिशतभन्दा बढी श्रमिक अनौपचारिक क्षेत्रमा काम गर्दै आएका छन्, जहाँ स्पष्ट श्रम सम्झौता, सामाजिक सुरक्षा, बीमा र न्यूनतम ज्याला अझै सुनिश्चित छैन।
दैनिक ज्यालादारीमा निर्भर श्रमिकहरू काम पाए मात्र आम्दानी हुने अवस्थाले जीवनयापन कठिन बनेको बताएका छन्। महँगी बढ्दो, कमाइ न्यून र रोजगारी अस्थिर हुँदा हजारौं श्रमिकको दैनिकी संकटमा छ।
विशेषगरी महिला श्रमिक, निर्माण मजदुर, घरेलु कामदार तथा भारी बोक्ने मजदुरहरू बढी प्रभावित छन्।






