अर्घाखाँची बस दुर्घटनाः ज्यान गुमाउनेको संख्या ४, २७ जना घाईते

चालकसहित ३१ जना सवार सो बस दुर्घटनामा पर्ने अधिकांश पर्वत मोदी गाउँपालिकाबासी

  • जरूवाखबर

  • पोखरा, २९ वैशाख । सुपादेउराली मन्दिर दर्शन गरि पर्वत फर्किने क्रममा अर्घाखाँचीको पाणिनी गाउँपालिकाको दुर्गाफाँट कुरुलेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ भने २७ जना घाइते भएका छन्।

    सन्धिखर्क घुम्ती तानसेन पाल्पा सडकखण्डअन्तर्गत पाणिनी ८ को कुरुलेफाट नजिक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै, एक जनाको उपचारका क्रममा अर्घाखाँची अस्पताल र चालकको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक झलकप्रसाद शर्माले जानकारी दिए ।

    दर्घुटनामा परी मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–१९ बस्ने ७८ वर्षीया राममाया बस्नेत, ७८ वर्षीया विन्दु कुँवर, पर्वत जिल्लाको मोदी गाउँपालिका–५ की ५० वर्षीया कौशिला रेग्मी र मोदी गाउँपालिका–५ का बसचालक ४५ वर्षीय बस चालक रमेश जिसी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी झलक शर्माले जानकारी दिए।

    घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ भने घाइतेहरूको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा र भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ। अर्घाखाँची अस्पतालका घाइते पनि उपचारका लागि भैरहवा मेडिकल कलेज पठइएको छ।

    चालकसहित ३१ जना सवार सो बस दुर्घटनामा अधिकांश पर्वत मोदी गाउँपालिकाबासी परेको प्रहरीको भनाइ छ।

    प्रारम्भिक जानकारीअनुसार गाडीको ‘ब्रेक फेल’ भएर दुर्घटना भएको र बस सडकबाट जङ्गलमा लगभग १०० मिटर तल खसेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • २९ बैशाख २०८३, मंगलवार २२:०५ प्रकाशित