पोखरा, १ जेठ। कास्की प्रहरीले जुवातास तथा अवैध सट्टेबाजी विरुद्धको अभियानलाई सशक्त बनाउनेक्रममा
बिहीबार मादी गाउँपालिका- ५ सुन पदेलीमा जुवा खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार साँझ करिब ६ बजेको समयमा उनीहरूलाई २ लाख ८७ हजार ८ सय ८० रुपैयाँ नगद र ४ बुक ताससहित पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय पोखराको प्राविधिक सहयोगमा लोकेसन पत्ता लगाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले पक्राउ परेकाहरूमाथि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।
पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट १० दिनको म्याद थप गरी हिरासतमा राखेको छ ।






