पोखरा, ५ जेठ। पोखरा महानगरपालिकाले अमरसिंहचोकमा रहेका सटर तथा टहराहरुमा आज बिहानैदेखि डोजर चलाएको छ । व्यवसायीले आफैले खाली गरीसकेका टहरा तथा सटरहरुमा सम्याउनका लागि महानगरले डोजर चलाएको हो ।
अमरसिंह माविको भोगाधिकारभित्र रहेको यो जग्गामा २०३८ सालदेखि नै टहरा बनाएर भाडामा लगाइएको वडाध्यक्ष सन्तोष बाँस्तोलाले बताए । वडाध्यक्ष बाँस्तोलाका अनुसार व्यवसायी, विद्यालय र वडा सहितको समन्वयमा सहमतिबाटै टहरा हटाइएको हो ।
हुन त व्यवसायीहरूले विना विकल्प हटाउन लागेको भन्दै यसअघि मुद्दा समेत हालेका थिए । अदालतले स्कुलकै पक्षमा फैसला गरेपछि टहरा हटाउन व्यवसायी राजी भएका हुन् । महानगर स्रोतका अनुसार यसपछि बन्ने व्यवस्थित सटरहरूमा पुराना व्यवसायीलाई प्राथमिकता दिने मौखिक सहमति भएको छ ।






