पोखरा, ८ जेठ। पोखरा महानगरपालिकाले अवैध रुपमा बनेका फिर्केखोलाको खोलाघरका संरचना हटाउन दिएको समयसिमा भोली जेठ ९ गते सकिदैछ । महानगरले दिएको समयसिमा सकिनै लाग्दा फिर्केको खोलाघरभित्र रहेका संरचनाहरू व्यक्ति तथा संघसंस्था स्वयंले खाली गर्ने क्रम सुरु गरेका छन् ।
महानगरले वैशाख ४ गते ३५ दिने सूचना जारी गरी सार्वजनिक, ऐलानी र सरकारी जग्गामा बनेका अवैध संरचना खाली गर्न निर्देशन दिएको थियो । जेठ ६ गते पून सूचना जारी गरी ९ गतेसम्मकालागि अल्टिमेटम दिएपछि आफ्ना घर तथा कार्यालय खाली गर्न थालेका हुन्।
शुक्रबार फोटोग्राफर सङ्घको भवन, लायन्स क्लब अफ पोखरा फिस्टेल सिटीको भवनलगायत खाली गरेका छन् भने अन्य संरचनाहरु पनि खाली गर्ने क्रममा छन् ।
यसैबिच महानगरले शुक्रबार फिर्केखोला घरभित्र अतिक्रमण गरी बसोबास गरिरहेका सुकुमबासी तथा अव्यवस्थित बसोबासीलाई आफ्नो विवरण पेस गर्न सूचना जारी गरेको छ । प्राविधिक टोलीले नापजाँच गरी पोल गाडिसकेको स्थानमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूलाई आगामी जेठ ९ गतेभित्र आफ्नो विवरण बुझाउन भनिएको हो। शनिबार सार्वजनिक विदा भएपनि विवरण सङ्कलनका लागि आवश्यक सहजीकरण गर्न कार्यालय खुला राख्ने निर्णय गरेको छ भने बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म महानगरको प्रशासन महाशाखाबाट विवरण बुझ्न सकिने महानगरले जनाएको छ।
विवरण बुझाउँदा सम्बन्धित व्यक्तिले महानगरपालिकाबाट वितरण भएको निस्सा वा जग्गाधनी पुर्जाको प्रतिलिपि, घरमूली र परिवारका सदस्यको नागरिकताको प्रतिलिपि, नाता प्रमाणित पत्र वा घरमूलीले स्वघोषणा गरेको नाता खुलेको पत्र र बसाइँसराइ भएको भए सोको प्रतिलिपि र पानी विधुत सुविधा लिएको प्रमाण पेस गर्नुपर्छ।
फिर्केखोला आसपासमा महानगरपालिकाले दुई वर्षअघि नै खोलाघरमा पिलर गाडेको थियो । फिर्के खोला वडा नम्बर १८ को अँधेरीखोलादेखि वडाहरु २, ४, ५, ७, ८, १७ हुँदै वडा नम्बर ६ को गाइघाटसम्म बग्छ। सो क्षेत्रमा १ सय ६० भन्दा बढी संरचना रहेको बताइएको छ ।








