गण्डकीको नीति तथा कार्यक्रम सार्वजनिक- गाँजा खेती र घरेलु मदिरा ब्राण्डिङलाई कानुनी दायरामा ल्याउँदै
  • जरूवाखबर

  • पोखरा, १९ जेठ । गण्डकी प्रदेश सरकारले मंगलबार आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सावर्जनिक गरिएको नीति तथा कार्यक्रममा कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, पूर्वाधार, ऊर्जा, खेलकुद तथा सुशासनलाई प्राथमिकतामा राखिएको छ ।

    सरकारले कार्यक्रममार्फत गाँजा खेती र घरेलु मदिरा ब्राण्डिङलाई कानुनी दायरामा ल्याउँदै आर्थिक उपार्जनको स्रोत बनाउने घोषणा गरेको हो। घरेलु मदिराको उत्पादन, ब्राण्डिङ, वितरण र नियमनलाई व्यवस्थित गर्न यसअघि नै ऐन जारी गरिसकेको छ । उक्त ऐनको प्रभावकारी कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । सरकारले गाँजा खेती नियमन सम्बन्धी विधेयक पनि आगामी वर्ष कार्यान्वयनमा ल्याइने प्रदेश प्रमुख डिल्लीराज भट्टले जानकारी दिए ।

    औषधीय र औद्योगिक प्रयोजनका लागि मात्र गाँजा खेतीलाई खुला गर्न लागेको हो । मेरो प्रदेशस् मेरो दायित्व अभियान अन्तर्गत नागरिकमा प्रदेशप्रतिको अपनत्व र उत्तरदायित्व बढाउन विभिन्न कार्यक्रम सञ्चालन गरिने प्रदेश प्रमुख डिल्लीराज भट्टले जानकारी दिए । यसअन्तर्गत निजी क्षेत्रको लगानीलाई आकर्षित गर्न इनभेस्ट गण्डकी कार्यक्रम अघि बढाइने उनले सुनाए।

    सरकारले कृषिको आधुनिकीकरण तथा उत्पादन वृद्धि गर्ने उद्देश्यसहित ‘रिटर्न टु भिलेज’ अभियान सञ्चालन गर्ने भएको छ । वैदेशिक रोजगारीबाट फर्किएका तथा गाउँमा उद्यम गर्न चाहने युवालाई सहुलियतपूर्ण कर्जा र ब्याज अनुदान उपलब्ध गराइने उल्लेख गरिएको छ ।

    पर्यटन क्षेत्रतर्फ पोखरालाई पर्यटकीय राजधानीका रूपमा थप स्थापित गर्न ‘राउन्ड फेवाः भ्यु फेवा’ कार्यक्रम सञ्चालन गरिने भएको छ । दामोदर कुण्डदेखि त्रिवेणीधामसम्म धार्मिक पर्यटन परिपथ निर्माण गर्ने तथा स्काई डाइभिङ र बन्जी जम्पिङजस्ता साहसिक पर्यटन गतिविधि विस्तार गरिने नीति लिइएको छ ।

    स्वास्थ्य क्षेत्रमा क्यान्सर तथा मिर्गौला रोगीलाई राहत तथा नियमित डायलासिस सेवालाई थप प्रभावकारी बनाइने भएको छ । प्रत्येक जिल्ला अस्पतालमा विशेषज्ञ सेवा विस्तार गर्ने तथा ‘मर्यादित महिनावारी’ कार्यक्रमअन्तर्गत निःशुल्क सेनिटरी प्याड वितरणलाई निरन्तरता दिइने उल्लेख छ ।

    प्रदेश सरकारले ‘एक घरः एक धारा’ कार्यक्रमलाई निरन्तरता दिने, शालिग्राम करिडोर तथा कोरला–पोखरा–त्रिवेणी सडक आयोजनालाई रूपान्तरणकारी आयोजनाका रूपमा अघि बढाउने जनाएको छ । साथै ‘उज्यालो गण्डकी’ अभियानलाई पूर्णता दिँदै ‘एक जिल्ला, एक जलाशय’ अवधारणाअनुसार जलाशय विकासको योजना अघि सारिएको छ ।

    शिक्षा क्षेत्रमा विद्यालय तहदेखि नै कृत्रिम बुद्धिमत्ता ९एआई०, ब्लकचेन तथा साइबर सुरक्षासम्बन्धी ज्ञान प्रदान गरिने भएको छ । ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै’ कार्यक्रमलाई निरन्तरता दिँदै प्राविधिक तथा व्यावसायिक शिक्षालाई श्रम बजारसँग जोड्ने नीति लिइएको छ ।

    खेलकुद क्षेत्रको विकासका लागि प्रत्येक जिल्लामा बहुउद्देश्यीय कभर्ड हल निर्माण गर्ने तथा साहसिक खेललाई पर्यटनसँग जोडेर गण्डकीलाई खेल पर्यटनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य सरकारको छ । प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रदेश सभामा छलफलपछि आगामी आर्थिक वर्षको बजेट ल्याइनेछ ।

    हेर्नुहोस् नीति तथा कार्यक्रमको  पूर्णपाठ  लिंक- 

    17803989998916_वार्षिक-नीति-तथा-कार्यक्रम-२०८३-२०८४_compressed

  • १९ जेष्ठ २०८३, मंगलवार १९:४७ प्रकाशित