पोखरा बसपार्कका सुकुमबासीका लागि ६ ठाँउ सिफारिस
  • जरूवाखबर

  • पोखरा, २२ जेठ । जग्गा खोजी समितिले पोखरा बसपार्कका सुकुमबासी व्यवस्थापन गर्न पोखरा महागनरलाई विभिन्न वडाका ६ ठाउँको जग्गा सिफारिस गरेको छ । सिफारिससहित समितिले बिहीबार मेयर धनराज आचार्यलाई प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा पोखराको वडा नं ११, १४, १५, २१ र २५ मा उपयुक्त जग्गाहरु रहेको उल्लेख छ ।

    पोखराको वडा नं ११ मा रहेको रामघाटस्थित पुन समाजले प्रयोग गर्दै आईरहेको ४६ रोपनी पर्ति जग्गा, वडा नं १४ बाच्छे बुडुवा खेलमैदान र भेडी फार्म क्षेत्रको २४८ रोपनी जग्गा, वडा नं १५ को मजुवास्थित ९९ रोपनी जग्गा, वडा नं २१ को दोबिल्लास्थित ४३० रोपनी र वडा नं २५ मा रहेको ८९३ रोपनी जग्गा सुकुमबासी व्यवस्थापनका लागि उपलब्ध हुन सक्ने सम्भाव्यता समितिले औंल्याएको छ ।

    वडा १७ को प्रगति टोलस्थित २३ रोपनी जग्गामा भने हाल केही सुकुमबासीहरू बसोबास गरिरहेका छन् । बाँकी खाली जग्गामा पनि थप व्यवस्थापन गर्न सकिने प्रतिवेदनमा उल्लेख छ । पहिलो प्रस्तावमा वडा नं ११ को रामघाट क्षेत्रमा रहेको जग्गा छ ।
    सेती नदीको ३० मिटर मापदण्डले समेत नछुने भएकाले पुन समाजले प्रयोग गरीरहेको करिब ४६ रोपनी पर्ति जग्गामा सुकुमबासी स्थानान्तरण गर्न सकिने प्रतिवेदनमा उल्लेख गर्दै सोही जग्गामा सुकुमबासी सार्न सकिने सिफारिस गरिएको छ । उक्त क्षेत्रमा पानी, बिजुली सडक लगायत पूर्वाधार समेत पुगिसकेको छ ।

    पोखरा वडा नं १४ को जग्गा खाली रहेकोले भेडीफर्म र बाच्छेबुडुवाको २४८ रोपनी जग्गा पनि बस्ती बसाल्न उपयुक्त देखिएको समितिको प्रतिवेदन छ । यहाँ पनि सडक, बिजुली र पानीको उपलब्धता रहेको र जग्गा पनि पर्याप्त भएकाले बसपार्कसँगै फिर्के कोरिडोरका सुकुमबासीलाई पनि यहाँ स्थानान्तरण गर्न सकिने प्रतिवेदनमा छ ।

    यसैगरी वडा नं १५ को मजुवामा पनि ९९ रोपनी जग्गा रहेको उल्लेख गर्दै सो क्षेत्रलाई उपयुक्त विकल्पको रुपमा अघि सारिएको छ । ९९ रोपनी जग्गा मध्ये केही प्रदेश प्रहरीको स्वामित्वको जग्गा छ भने बाँकी भागको पुनर्रेखाङ्कन गर्नुपर्ने अवस्था छ । वडा नं १७ को प्रगति टोलमा करिव २३ रोपनी जग्गा रहेको र सो जग्गाको केही हिस्सामा सुकुम्बासी बसोबास गरीरहेकाले पनि उक्त क्षेत्र सुकुमबासी स्थानान्तरणका लागि उपयुक्त हुने सिफारिस छ ।

    वडा नं २१ दोबिल्लामा ४३० रोपनी जग्गा प्रयोग गर्न मिल्ने खालको रहेको प्रतिवेदनमा उल्लेख छ । केही भाग मापदण्डमा परे पनि धेरैजसो भाग व्यवस्थापनका लागि उपयुक्त रहेको समितिको निष्कर्ष छ ।

    यसैगरी वडा नं. २५ हेमजाको करिब ८९३ रोपनी जग्गा पनि स्थानान्तरणका लागि उपयुक्त हुने ठहर समितिको छ । खाली बगर भएकाले यहाँ हाल खेती भइरहेको छ ।

    प्रस्तावित पोखरा बसपार्क निमार्णका लागि पोखरा महानगरपालिकाले वर्षौंदेखि विभिन्न सार्वजनिक पर्ती र सरकारी जग्गामा बसोबास गर्दै आएका सुकुमबासी, अव्यवस्थित बसोबासी र भूमिहीनहरुको व्यवस्थापनका लागि नयाँ विकल्पको खोजी गरेको हो । लागि १० दिनअघि वडा १७ का अध्यक्ष राधिका शाही योगीको संयोजकत्वमा ७ सदस्यीय जग्गा खोज्न समिति गठन भएको थियो ।

    तत्कालका लागि महानगरले बसपार्क र फिर्के करिडोर क्षेत्रका ६ सय परिवारलाई व्यवस्थापन गर्ने लक्ष्यका साथ आवश्यक जग्गा पहिचान गरी प्रतिवेदन तयार पारेको छ ।

    समितिमा वडा ९ का अध्यक्ष दीपेन्द्र मर्सानी, १५ का अध्यक्ष तोरणबहादुर बानियाँ, १४ का अध्यक्ष बोधराज कार्की, २५ का कार्यवाहक अध्यक्ष धना पोख्रेल, नापी शाखा पोखराका प्रमुख सीता कार्की र प्रशासन महाशाखाका अधिकृत टीकाराम बजगाईं ‘सदस्य सचिव’ छन् ।

  • २२ जेष्ठ २०८३, शुक्रबार ११:५७ प्रकाशित