प्रगति नमूना सहकारीको रक्तदान कार्यक्रम, ३१ युनिट रगत संकलन (तस्विरसहित)
  • जरूवाखबर

  • पोखरा, ६ असार । प्रगति नमूना बचत तथा ऋण सहकारी संस्थाको आठौं स्थापना दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३१ युनिट रगत संकलन भएको छ । पोखरा महानगरपालिका वडा नं १४ प्रगतिटोलमा अवस्थित प्रगति सहकारी र प्रगति नमूना आमा समूहद्धारा संयुक्त रुपमा आयोजित कार्यक्रममा ३१ युनिट रगत संकलन भएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि पोखरा १४ का वडाध्यक्ष बोधबहादुर कार्कीले सामाजिक काममध्ये रक्तदान कार्यक्रम सबैभन्दा उत्तम र उत्कृष्ट कार्य भएको बताउँदै सहकारीको सामाजिक काममा थालेको हातेमालोप्रति खुशी व्यक्त गरे । वडाध्यक्ष कार्कीले भने ‘आर्थिक सशक्तिकरणका लागि मात्र नभई सहकारीले सहकार्य र सामुदायिक विकासमा जोड दिदै सामाजिक कार्यको उत्कृष्ट कार्य रक्तदान कार्यक्रम हो ।’ उनले सामाजिक कार्यमा सधै अग्रसर रहन शुभकामना व्यक्त गर्दै टोल र समाजको संवृद्धिमा आफु साथ सधै रहने विचार व्यक्त गरे ।

    ‘रक्तदान जीवनदान’ भन्ने मूल नारासहित विभिन्न रोगबाट ग्रसित बिरामीहरूका लागि रगतको अभाव टार्न र समुदायप्रति उत्तरदायी बन्ने मुख्य लक्ष्य सहित कार्यक्रमको आयोजना गरिएको सहकारीका अध्यक्ष मानबहादुर भूजेलले बताए ।
    स्थापनाकालदेखि नै विविध सामाजिक गतिविधिमा सक्रिय रहँदै आएको सहकारीले सहकारीका सञ्चालक, कर्मचारी, शेयर सदस्य, स्थानीय टोलबासीका साथै युवाहरुलाई सामाजिक कार्यमा अग्रसर गराउन पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गरिएको अध्यक्ष भूजेलको भनाई छ ।

    भूमेश्वर टोलविकास संस्थाका अध्यक्ष प्रेम केसीले रक्तदानको महत्व बारे प्रकाश पार्दै रक्तदान एक पूण्य काम भएको र स्वस्थ रहेका हरेक व्यक्तिले रक्तदान गरी सामाजिक कार्यमा हातेमालो गर्न सबैलाई आग्रह गरे ।

    प्रगति नमूना आमा समुहकी अध्यक्ष शर्मिला श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहकारीका अध्यक्ष मानबहादुर भूजेलले गरेका थिए ।

    वि.सं.२०७५ सालमा स्थापना भएको यस सहकारीले छरिएर रहेको सानो-सानो पूँजीलाई बचतको रुपमा एकीकृत गर्ने, सदस्यहरूलाई सहज र सुलभ रूपमा ऋण उपलब्ध गराउई आर्थिक सशक्तिकरण गर्ने, सदस्यहरूको क्षमता विकास  लगायतका कार्य गर्दै आईरहेको छ ।

     

  • ६ असार २०८३, शनिबार १४:३८ प्रकाशित