काठमाडौं । मन्त्रालयको संख्या कटौती गरेको सरकारले मन्त्रीले सचिवस्तरका सल्लाहकारसहित ९ सदस्यीय स्वकीय सचिवालय नियुक्त गर्न पाउने व्यवस्था गरेको छ ।
मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार अब प्रत्येक मन्त्रीले ३ देखि ५ जनासम्म विशिष्ट श्रेणी (सचिवसरह) का सल्लाहकार नियुक्त गर्न पाउने छन् भने प्रमुख स्वकीय सचिवसहित ९ जनाको स्वकीय सचिवालय बनाउन पाउनेछन् ।
२ वैशाखमा मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयनका लागि मुख्यसचिव सुमनराज अर्यालले सम्बन्धित मन्त्रालयमा पठाउन थालेका छन् । सल्लाहकार र ठूलो आकारको स्वकीय सचिवालय बनाउने निर्णयमाथि आलोचना हुन सक्ने भन्दै ढिला गरी निर्णयहरू मन्त्रालयमा पठाइएको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताए ।
मन्त्रिपरिषद्को निर्णय प्राप्त भइनसकेका कारण मन्त्रीहरूले नयाँ व्यवस्थाअनुसार सचिवालय भने गठन गरिसकेका छैनन् । सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गत साता वैशाख र जेठका मन्त्रिपरिषद्का सबै निर्णय सार्वजनिक गर्दा पनि २ वैशाखको उक्त निर्णय भने सार्वजनिक गरिएको छैन ।
निर्णयअनुसार १७ जना मन्त्रीले ५७ जना सल्लाहकार र १५३ जना स्वकीय सचिवालयमा नियुक्त गर्न पाउनेछन् । यसको अतिरिक्त ऐनले नै व्यवस्था गरेको निजी स्वकीयसहितको सचिवालय हुनेछ ।






