आज असार १५, नेपाली कृषि संस्कृतिको एउटा जीवन्त पर्व ‘धान दिवस’ । नेपाली परम्परामा यो दिनलाई ‘मानो खाएर मुरी फलाउने दिन’ भनिन्छ । सानो मुट्ठी बीउ रोपेर ठूलो आशाको मुरी फलाउने प्रतीकात्मक दिन । भनिन्छ- आजको दिनमा हिलो छुनुपर्छ ।
नेपालमा मुख्य बाली मानिने ‘धान’ हाम्रो कुल खाद्यान्न उत्पादनमा झण्डै आधा हिस्सा छ । तर विडम्बना, यो महत्वपूर्ण दिनमा पनि हामीले कृषिलाई कति प्राथमिकता दिइरहेका छौं ? विभिन्न बहानामा युवाहरू शहरतिर पलायन भइरहेका छन्, खेतबारी बाँझो पर्दै गएका छन्, सिंचाइको अभाव छ, समयमा मल–बीउ नपाउनु, मलबीउको महँगो मूल्य, बढ्दो जलवायु परिवर्तनले परीरहेको मौसमको अनिश्चितता लगायतले किसानहरूको मेहनतलाई बारम्बार चुनौती दिइरहेको छ । अभावै अभावबीच किसानले असार १५ मनाईरहेका छन् ।
राष्ट्रिय तथ्यांक कार्यालय र कृषि मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा धान उत्पादन ४.२ प्रतिशतले घट्ने अनुमान छ । गत वर्ष ५९ लाख ५५ हजार मेट्रिक टन उत्पादन भएकोमा यो वर्ष करिब ५७ लाख ५ हजार मेट्रिक टन मात्र हुने देखिएको छ । क्षेत्रफल ३.८ प्रतिशत र उत्पादकत्व १.१६ प्रतिशतले घटेको छ । धानको मुख्य उत्पादन क्षेत्र मानिने मधेश प्रदेशमा रोपाइँको समयमा खडेरी, युवा पलायन, बसाइँसराइ, उत्पादन तथा जमिनको उपयोगमा परिवर्तन र मौसमको प्रतिकूलता जस्ता मुख्य कारणहरूले धान उत्पादन वर्षेनी घट्दै गईरहेको छ ।
नेपालको वार्षिक धान/चामल आवश्यकता ३८–४० लाख मेट्रिक टन छ तर आन्तरिक उत्पादन ३५ लाख टन हाराहारी मात्र छ । उत्पादकत्व प्रतिहेक्टर औसत ४.१४ टन मात्र छ । आवश्यकता बढी र उत्पादन कमका कारण धान चामल आयात बढ्दो छ । आयातमा मात्रै अर्बौं रुपैयाँ विदेशिन्छ ।
युवा पलायनका कारण सिर्जित हुने श्रम अभाव, जलवायु परिवर्तनका कारण भईरहेको मौसमको अनिश्चितता, सिँचाइ, गुणस्तरीय बीउ र मलको अपर्याप्तता, पुरानै तरिकाको उत्पादनशैली, कृषिमा वैज्ञानिकरणको अभावले कृषिमा चुनौतीहरु थपिएका छन् । अझ पछिल्लो समयमा खेतीयोग्य जमिनमा बढ्दो शहरीकरण र जमिनको खण्डीकरण, उत्पादन लागत उच्च, बजार र उचित मूल्यको अभावले पनि कृषिक्षेत्र संकटमा रहेको अवस्था छ ।
कृषि नै हाम्रो खाद्य सुरक्षा र अर्थतन्त्रको मूल आधार हो । तर राज्यको भूमि उपयोग योजनाको अभावमा खेतीयोग्य जमिन रियल स्टेटमा प्रयोग भईरहेको छ, जसले उर्बर कृषि भूमिलाई कंक्रिटमा परिणत गरिदिएको छ । वर्षेनी उत्पादनमा र्हास आईरहेको धान उत्पादन वृद्धि तथा आत्मनिर्भरताका लागि वर्षैभरि सिंचाई सुविधा पुर्याउने गरी सिंचाइ पूर्वाधार विस्तार गरिनु मुख्य आवश्यकता हो ।
जलवायु परिवर्तनले भईरहने मौसमी अनिश्चितता अनूकूल उन्नत बीउ उपलब्ध तथा वितरण कार्यमा गम्भीरता देखाउने, कृषि बीमा र जोखिन न्यूनिकरणका साथै कृषिलाई आधुनिकरण तथा वैज्ञानिकरणमा जोड दिनु नितान्त आवश्यक छ । सरकारले कृषि क्षेत्रलाई बजेटमा प्राथमिकता दिनुपर्छ । कृषि अनुदानलाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ । युवालाई कृषिमा आउन प्रोत्साहनमात्र होइन युवालाई कृषिमा ल्याउने नीति नै ल्याउनुपर्छ । साथै कृषकको मेहनत र श्रमको उच्च सम्मानसहित मूल्य र बजार सुरक्षाको जिम्मा राज्यले लिनुपर्छ ।
राज्यले खेतीयोग्य जमिनलाई शहरीकरण र खण्डीकरण गर्न नदिने, खेतीयोग्य जमिनको संरक्षण, एकीकरणका साथै बाँझो जमिनलाई खेतीमा फर्काउने भूमि व्यवस्थापन नीति र भूमि उपयोग योजना लागू गर्नु आवश्यक छ । कृषि प्रधान देश भनिने हाम्रो देशमा कुनै समय धान निर्यात गथ्र्यौ तर दुर्भाग्य अहिले आयात गरिरहेका छौं । कृषकको मेहनतलाई सम्मान, कुषि क्षेत्रलाई आधुनिक, आकर्षक र सम्मानजनक बनाउन नसक्दासम्म धान मात्र होइन हामी हरेक खाद्य बस्तु आयात गर्न बाध्य भइरहनेछौ ।
‘धान दिवस’ यो पर्वले हामीलाई दिगो समृद्धिको प्रेरणा देओस् ।






