पोखराकी अञ्जना केसी प्रतिष्ठित ‘म्युसा ग्लोबल फेलोसिप २०२६’ का लागि चयन
  • जरूवाखबर

  • पोखरा, २० असार । पोखराकी अधिकारकर्मी अञ्जना केसी सन् २०२६ का लागि विश्वप्रसिद्ध ‘म्युसा ग्लोबल फेलोसिप’ मा चयन भएकी छन् । अपाङ्गता भएका व्यक्ति र महिला अधिकारको क्षेत्रमा अनवरत रूपमा क्रियाशील केसी अमेरिकास्थित मोबिलिटी इन्टरनेसनल यूएसएले विश्वभरका आफ्ना पूर्वअन्तर्राष्ट्रिय सहभागीहरू मध्येबाट उत्कृष्ट नेतृत्व, असाधारण उपलब्धि र नवीन कार्यहरू प्रदर्शन गर्ने २४ जना साहसी नेतृत्वकर्ताहरूलाई यस वर्षको ‘इनअगुरल कोहोर्ट’ का रूपमा चयन गरेको हो । जसमा नेपालबाट पोखराकी अञ्जना केसी चयन भएकी हुन् ।

    संस्थाका अनुसार विश्वभरका समुदाय, देश र अन्तर्राष्ट्रिय स्तरमै जटिल चुनौतीहरूको सामना गर्दै नवीन दृष्टिकोणका साथ परिवर्तन ल्याउन भूमिका खेल्ने अभियन्ताहरूलाई यो विशिष्ट सम्मान र फेलोसिप प्रदान गरिएको हो ।

    नेपालमा अपाङ्गता भएका व्यक्ति र महिलाहरूको नेतृत्व विकास एवं सशक्तीकरणका लागि केसी लामो समयदेखि वकालत गर्दै आएकी स्थापित नाम हुन् । उनी स्वावलम्बन जीवनपद्धति केन्द्र पोखराकी अध्यक्ष तथा अपाङ्गता भएका महिला सशक्तीकरण केन्द्र कास्कीकी कार्यकारी निर्देशक हुन् ।

    ह्विलचेयर प्रयोगकर्ता रहेकी केसीको गण्डकी प्रदेशको अपाङ्गता अधिकार ऐनको मस्यौदा लेखनमा महत्त्वपूर्ण र रूपान्तरणकारी योगदान रहेको छ ।

     

  • २० असार २०८३, शनिबार १३:१४ प्रकाशित