पोखरा, २२ असार । जिल्ला अनुगमन समिति कास्कीको टोलीले भूपि शेरचन राजमार्ग अन्तर्गत अन्नपूर्ण–२, ढिकुरपोखरीमा रहेका विभिन्न रेष्टुरेण्ट एवम् खाजाघरमा अनुगमन गरी कारवाही गरिएको छ ।
समितिले अनुगमनकाक्रममा हाम्रो भण्डारी रेष्टुरेण्ट एण्ड खाजाघरलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ। टोलीले अनुगमन गर्दा सरसफाइमा नभएको, जथाभावि फोहोर फालेको, नविकरण नगरेको र मूल्यसूची नराखिएको भन्दै रेष्टुरेन्टलाई कारवाही गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।
रेष्टुरेन्टका संचालक मनहरि भण्डारीलाई एक हप्ताभित्र व्यवसायसम्बन्धी सम्पूर्ण कागजात लिएर जिल्ला प्रशासन कार्यालय, कास्कीमा उपस्थित हुन निर्देशनसमेत दिइएको छ ।
त्यसैगरी, सोही स्थानको पञ्चासे भ्यू पोइन्ट एण्ड रातामाटे खाजाघरमा लेवल नभएका सामग्री बिक्री वितरण नगर्न निर्देशन दिइएको छ । साथै, मूल्यसूची राख्न, व्यवसाय नवीकरण गर्न निर्देशन दिइएको छ ।
ढिकुरपोखरीकै माउण्टेन भ्याली रेष्टुरेन्टलाई मूल्यसूची राख्न, पेसा व्यवसाय दर्ता र नवीकरण गर्न निर्देशन दिइएको छ ।
यसैगरी चुइने पहरा खाजाघरमा मूल्यसूची राख्न, सरसफाइमा ध्यान दिन र व्यवसाय नवीकरण गर्न निर्देशन दिइएको छ ।
समितिले पोखरा महानगरपालिका वडा पोखरा–५, मालेपाटनस्थित हाउस अफ बेकरीमा अनुगमन गरी उत्पादित केही बेकरीमा उत्पादन र उपभोग्य मिति नभएको पाइएकाले तुरुन्त उपभोग्य मिति र उत्पादन मिति राख्न निर्देशन दिइएको छ ।






