लागुऔषध सेवन गरी बस चलाउने चालक पक्राउ
  • जरूवाखबर

  • पोखरा, २४ असार । ट्राफिक प्रहरीले लागुऔषध सेवन गरी यात्रुवाहक सार्वजनिक बस चलाइरहेका एक चालकलाई पोखरामा पक्राउ गरेको छ।

    जिल्ला ट्राफिक कार्यालय कास्कीका अनुसार बुधबार पोखराको औद्योगिक क्षेत्रमा नियमित सवारी चेकजाँचका क्रममा पोखरा–दमौली रुटमा सञ्चालन भइरहेको ग१ख ९६४७ नम्बरको सार्वजनिक बसका चालक अभिनाश गुरुङलाई नियन्त्रणमा लिइएको हो।

    तनहुँको भिमाद नगरपालिका–२ घर भएका चालक गुरुङले लागुऔषध सेवन गरी सवारी चलाएको पुष्टि भएपछि उनलाई आवश्यक कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय रामबजार पठाइएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ।

    उक्त बसमा  १८ जना यात्रु सवार रहेका थिए। ट्राफिक कार्यालयका अनुसार चालक गुरुङको सवारी चालक अनुमति पत्र (लाइसेन्स) निलम्बनको प्रक्रिया अघि बढाउन यातायात व्यवस्था कार्यालय कास्कीमा समेत पठाइएको छ।

  • २४ असार २०८३, बुधबार २१:०९ प्रकाशित