कर्म-कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट पत्रकार हितानमगर र गुरुङ सम्मानित
  • जरूवाखबर

  • पोखरा, २९ असार । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ‘फोनिज’ कास्कीले स्थापना गरेको कर्म-कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट पत्रकार पत्रकार रुद्रबहादुर हितानमगर र इन्दिरा गुरुङ सम्मानित भएका छन् । हितानमगरलाई २०८२ सालको तथा गुरुङलाई २०८३ सालको पुरस्कार प्रदान गरिएको हो ।

    पुरस्कार वितरण कार्यक्रममा गण्डकी प्रदेशकी प्रेस रजिस्ट्रार विमला भण्डारी र पुरस्कारदाता कर्म गुरुङले भांग्रा, घलेक, सम्मानपत्र तथा जनही १० हजार रुपैयाँ नगदसहित सम्मान गरेका हुन् ।

    तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्म गुरुङ र उनका श्रीमान कर्ण गुरुङको वैवाहिक वर्षगाँठको स्मृतिमा स्थापना गरिएको उक्त पुरस्कार आदिवासी जनजाति पत्रकारितामा योगदान पुर्याउने सञ्चारकर्मीलाई वार्षिक रूपमा प्रदान गरिँदै आएको छ ।

    कार्यक्रममा प्रेस रजिस्ट्रार भण्डारीले पत्रकारिता क्षेत्रमा समर्पित व्यक्तित्वको सम्मानले नयाँ पुस्ताका पत्रकारलाई व्यावसायिक, जिम्मेवार र सिर्जनशील पत्रकारितातर्फ प्रेरित गर्ने बताइन् ।

    कार्यक्रममा बोल्दै पुरस्कारदाता कर्म गुरुङले पत्रकारिताको क्षेत्रलाई नजिकबाट नियालिरहेकाले यो सम्मानले पत्रकारको मनोबल बढाउनेमा विश्वास लिएको बताइन् ।

    तमु धिं नेपालका अध्यक्ष एवं फोनिज कास्कीका सल्लाहकार हुम गुरुङले सम्मानलाई संस्थागत गर्न उचित हुने भन्दै समावेशी पत्रकारिता आजको आवश्यकता रहेको बताए ।

    कार्यक्रममा नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखे, पुरस्कार छनोट समितिका संयोजक दिपेन्द्र श्रेष्ठ, सम्मानित व्याक्ति इन्दिरा गुरुङ र पुरस्कृत हितानमगरले आ आफ्नो भनाई राखेका थिए ।

    फोनिज कास्कीका अध्यक्ष बिना कुमारी थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव देविका तामाङले गरेकी थिइन् ।

    यो पुरस्कारबाट यसभन्दा अघि रीता गुरुङ, तिलक पुन, हर्क आले मगर, राज बहादुर गुरुङ, शान्ति गुरुङ, एमबि आस्था मगर, हुम बहादुर गुरुङ, उदय बहादुर अमात्य, रुद्र श्रीष मगर, दिपेन्द्र श्रेष्ठ र खेम सारु मगर सम्मानित भइसकेका छन् ।

    उक्त कार्यक्रममा राष्ट्रिय कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८३ बाट सम्मानित मिना थापामगर, पोखरा महानगरपालिकाको युवा उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित दुर्गा रानामगर र पोखरामा संचालन भएको ११ औँ राष्ट्रिय हप्किदो च्याम्पियन मेग्मा गुरुङलाई खादा लगाएर सम्मान गरिएको थियो ।

  • २९ असार २०८३, सोमबार २१:५७ प्रकाशित