ढुंगालाई बहुमूल्य धातु भन्दै ठगी गर्ने ६ जना पोखरामा पक्राउ
  • जरूवाखबर

  • पोखरा, २९ असार । सेतो ढुंगालाई बहुमूल्य वस्तु भन्दै ठगी गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले उनीहरूलाई सोमबार पोखराको कालिकाचोकबाट नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा पर्वत, म्याग्दी र कास्कीका नागरिक छन् ।

    पक्राउ पर्नेमा पर्वत फलेवास ५ घर भएका ३५ वर्षका राजन विक, सोही ठाउँकी २७ वर्षकी रोशनी विक र ६९ वर्षकी बाटुली भन्ने खगिसरा कामी, म्याग्दी मालिका ४ घर भई हाल पोखरा २६ बस्ने ५१ वर्षका दिलबहादुर बुढा मगर, म्याग्दी रघुगंगा ५ घर भई पोखरा २७ अर्चले बस्ने २९ वर्षका दीपक गोतामे छन् । यसैगरी कास्की पोखरा २१ घर भई पोखरा ५ मालेपाटन बस्ने ४५ वर्षका प्रेमचन्द्र विश्वकर्मालाई पनि प्रहरीले पक्रेको छ ।

    प्रहरीले उनीहरू बस्ने डेरा र शरीर खानतलासी गर्दा विभिन्न वस्तु बरामद गरेको छ । जसमा सेतो टल्किने क्रिस्टलजस्तो देखिने १ थान वस्तु फेला परेको छ । यस्तै काठको फोल्डिङ बट्टा १ थान र ६ फिट ५ इन्च लामो केबलसहितको १ थान चार्जर पनि बरामद गरिएको छ । उनीहरूका साथबाट ६ थान मोबाइल फोन समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

    उनीहरूले लामो समयदेखि सर्वसाधारणलाई ठगी गर्दै आएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । ‘घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ,’ कास्कीका सूचना अधिकारी डिएसपी वीरेन्द्रकुमार पासवानले बताए । प्रहरीले पक्राउ परेका सबैलाई हिरासतमा राखेर थप कानुनी प्रक्रिया अगाडि बढाएको छ ।

  • २९ असार २०८३, सोमबार २२:१९ प्रकाशित