काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाले आगामी दुई दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन जारी गर्दै हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू(भाग आसपास सरेकाले मनसुनी गतिविधि बढ्ने आकलन गरेको छ।
महाशाखाका अनुसार शनिबार र आइतबार देशका हिमाली तथा पहाडी भू-भागमा वर्षाको जोड रहनेछ। विशेष गरी गण्डकी, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रका एक-दुई स्थानमा अति भारी वर्षा समेत हुन सक्ने पूर्वानुमान बुलेटिनमा उल्लेख छ।
बंगालको खाडीमा विकसित भएको न्यून चापीय प्रणाली उत्तर-पश्चिम दिशामा सर्ने क्रममा रहेकाले मनसुन थप सक्रिय हुने देखिएको हो। यो प्रणालीका कारण देशभर धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना समेत छ।
यो मौसमी प्रणालीका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात, पर्वतारोहण, कृषि र पर्यटन क्षेत्र प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ।
सम्भावित जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन तथा पूर्वतयारीमा जुट्न सर्वसाधारण र सरोकारवाला निकायहरूलाई आग्रह गरिएको छ।






