विपी कोइरालाको ४४औँ स्मृति दिवस: ओझेलमा विपी मार्ग
  • जरूवाखबर

  • आज साउन ६ गते, महामानव विश्वेश्वरप्रसाद ‘विपी’ कोइरालाको ४४औँ स्मृति दिवस । वि.सं १९७१ भदौं २४ गते भारतको वनारसमा जन्मिएका विपीको वि.सं २०३९ साल साउन ६ गते ‘जुलाई २१, १९८२’ निधन भएको थियो । नेपालको आधुनिक इतिहासमा विपी एउटा अमिट नाम हुन् -प्रजातन्त्रका प्रणेता, राष्ट्रिय मेलमिलापका सूत्रधार, समाजवादी चिन्तक, साहित्यकार र अटल संघर्षकर्ता । नेपालमा प्रजातन्त्र स्थापनाका लागि आजीवन संघर्ष गरेका दूरदर्शी नेता, सामाजिक न्यायका अडिग पक्षपाती, जसको जीवन जेल, निर्वासन, सत्ता र निरन्तर सङ्घर्षको मिश्रणले नै नेपालमा व्यवस्था परिवर्तनमात्र होइन नेपाली जनतालाई स्वतन्त्रता, समानता र न्यायको सपना देखायो । तर पछिल्ला समयमा विपीको समाजवादलाई भाषणमा मात्र सिमित राखेका छन् । विपीको प्रजातान्त्रिक समाजवाद र चिन्तनलाई पार्टीहरुले व्यवहारमा बिर्सिन थालेका छन् । विपीकै पार्टी नेपाली काँग्रेसले पनि विपी विचार र विपी मार्गलाई बिर्सिएको छ ।

    वि.सं २००७ सालको राणा शासनविरुद्धको क्रान्तिमा विपीको नेतृत्वदायी भूमिका रह्यो । २०१५/१६ सालमा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बने। विद्यामान निरंकुश शासन व्यवस्था परिवर्तन र जनताको अवस्था परिवर्तनका लागि क्रान्तिमा होमिएर निर्वाचनमार्फत प्रधानमन्त्री बनेका विपीको जम्माजम्मी १८ महिनाको सरकारले भूमिसुधार, बिर्ता उन्मूलन, राष्ट्रियकरण जस्ता क्रान्तिकारी कदम चाल्यो । तत्कालिन समयमा विपीको उक्त क्रान्तिकारी कदमले सामन्तवाद तर्सिन पुगे । दलिय व्यवस्था र जनताको अवस्था परिवर्तनका लागि आएका विपीलाई २०१७ साल पुस १ गते राजा महेन्द्रको ‘कु’ले सत्ताबाट हटायो र सुन्दरीजल जेलमा कैद गर्यो । जेल, निर्वासन, स्वास्थ्य समस्या र डर लाग्दो रोगसंग पौठाजोरी खेल्दै मृत्युको सामना गर्दै पनि उनले प्रजातन्त्रको लागि संघर्ष छाडेनन् । आफ्नो मृ्त्यूसम्म पनि लोकतान्त्रिक समाजवाद, राष्ट्रिय एकता, नागरिक स्वतन्त्रता र बहुदलीय व्यवस्थाको पक्षमा निरन्तर आवाज उठाईरहे । मुलुकमा राजनीतिक परिवर्तनका लागि विपीको जीवन त्यागको प्रतिक र संघर्षको अमर गाथा थियो ।

    झण्डै आठ वर्ष जेल जीवन र लामो समय भारत निर्वासन पश्चात सन् १९७६ मा निर्वासनबाट फर्किएर विपीले ‘राष्ट्रिय मेलमिलाप’ को नीति अघि सारे, जसले पञ्चायतकालमा पनि राष्ट्रिय एकताको सन्देश दियो । उनको यो निर्णयलाई धेरैले आलोचना गरे, तर यो राष्ट्रियताकालागि थियो । दलभन्दा माथि राष्ट्र भन्दै उनले मेलमिलापको नीति अघि सारेका थिए । विपीको त्यही त्यागले नेपाली राजनीतिलाई नैतिक बल दियो ।

    विपीको योगदान प्रजातन्त्र स्थापनामा मात्र होइन, प्रजातन्त्रलाई समाजवादसँग जोड्ने दृष्टिमा छ । उनले ‘राष्ट्रियता, प्रजातन्त्र र समाजवाद’ लाई नेपाली कांग्रेसको मूल मन्त्र बनाउँदै जात, वर्ग, लिंग वा जातीय पहिचानको आधारमा कुनै पनि भेदभाव नहोस् र सबैका लागि समान स्वतन्त्रता, न्याय र सम्मान सुनिश्चिता हुनुपर्छ भन्दै समावेशी प्रजातन्त्रको परिकल्पना गरेका थिए । ‘सबै नेपालीको एउटा सानो घर होस्, गरी खान पुग्ने खेतबारी होस्, एउटा दुहुने गाई होस्, छोराछोरीले स्कुल पढ्न पाऊन्, स्वास्थ्य उपचार गर्न पाऊन् यही हो नेपालको सन्दर्भमा समाजवाद ।’ विपीको समाजवाद नेपाली समाजकालागि व्यवहारिक समाजवाद थियो । उनले आफ्नो छोटो प्रधानमन्त्रीत्वकालमा गरिब किसान र मजदुरको उत्थानलाई प्राथमिकता दिइयो । भूमि जोत्नेको हुनुपर्छ भन्ने नारा, शिक्षा र स्वास्थ्यमा पहुँच यी सबै महानायक विपीका दूरदर्शिताका प्रमाण हुन् । ।

    पछिल्लो समयमा विपीको समाजवादलाई राजनीतिक दलहरुले बिर्सिदै गएका छन् भने विपीको समाजवादलाई शब्दमा सीमित गरेका छन् । नेपालको संविधानको प्रस्तावना र धारा ४ को उपधारा १ मा राज्यको चरित्र ‘समाजवाद उन्मुख’ हुनेछ भनि स्पष्ट रुपमा लेखिएको छ, तर व्यवहारमा त्यसको ठिक उल्टो छ । मुलुकमा भ्रष्टाचार, असमानता, बेरोजगारी र युवा पलायन बढ्दो छ । राजनीतिक दलहरू सत्ताको लडाइँमा व्यस्त छन्, तर गरिबको घर, किसानको खेत र युवाको भविष्यप्रति उनीहरूको ध्यान छैन । विपीले जुन प्रजातान्त्रिक समाजवादको सपना देखेका थिए, त्यो राजनीतिक स्वतन्त्रतासँगै आर्थिक समानताको थियो । तर पछिल्लो समयमा त्यो केवल खोक्रो नारा जस्तो भएको छ । समाजवाद भनेको केवल घोषणापत्र होइन, यो त जनताको दैनिक जीवनमा परिवर्तन हो । विपीको स्मृति दिवसमा यी कुरा सम्झनु आवश्यक छ । सिद्धान्तहीन गठबन्धन, पद प्रतिष्ठाको लालच, व्यक्तिगत स्वार्थले विपीको सिद्धान्त र नीति ओझेलमा परेको छ ।

    विपी दूरदर्शी राजनीतिज्ञ मात्र होईनन् उनी राजनीतिक मूल्यमान्यताहरुलाई मानवीय संवेदनाका साथ साहित्यमार्फत प्रस्तुत गर्ने मनोवैज्ञानिक साहित्यकार पनि हुन् । जेलमा बसेर पनि उनले नेपाली साहित्यलाई नयाँ धारको साहित्यिक सम्पदा दिए- उपन्यासहरु  ‘तीन घुम्ती’, ‘सुम्निमा’, ‘नरेन्द्र दाइ’, ‘मोदीआईन’, ‘हिटलर र यहुदी’, ‘बाबु आमा र छोरा’ साथै कथाहरु ‘मेरो कथा’, ‘दोषी चश्मा’, ‘श्वेत भैरवी’ जस्ता साहित्यिक सम्पदाले नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादको जग बसाल्यो ।

    विपी कोइरालाको ४४औं स्मृति दिवस केवल श्रद्धाञ्जली व्यक्त गर्ने दिन होइन, यो दिन आत्मचिन्तनको दिन पनि हो । उनको त्याग, योगदान र संघर्षले सिकाउँछ सिद्धान्तप्रति अडिग रहनु, राष्ट्रलाई प्राथमिकता दिनु र जनताको सेवा गर्नु । पछिल्ला पुस्ताले विपी कोइरालाको प्रजातान्त्रिक समाजवादलाई पुनर्जीवित गर्नुपर्छ । दलहरूले सत्ता होइन, जनताको उत्थानलाई केन्द्रमा राख्नुपर्छ ।
    उनको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दै, सबैलाई उनको मार्गमा लाग्ने प्रेरणा मिलोस् ।

  • ६ श्रावण २०८३, बुधबार ०८:२६ प्रकाशित