काँग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
  • जरूवाखबर

  • पोखरा, १२ साउन। नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको मंगलबार निधन भएको छ ।  श्रेष्ठको ललितपुरको जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारको क्रममा निधन भएको हो ।

    स्याङ्जाबाट पटक-पटक संसदीय निर्वाचन जितेका श्रेष्ठले विगतमा भौतिक योजना तथा निर्माण मन्त्री, वन तथा भूसंरक्षण मन्त्री, उद्योग मन्त्री र शिक्षामन्त्रीको जिम्मेवारी सम्हालेका थिए । काँग्रेस संसदीय दलको प्रमुख सचेतक समेत रहिसकेका श्रेष्ठ तत्कालीन नेपाली काँग्रेस ‘प्रजातान्त्रिक’ का कार्यवाहक सभापतिसमेत बनेका थिए । श्रेष्ठका २ श्रीमति, ३ छोरा र ६ छोरी छन् ।

    २०१७ सालदेखि, विद्यार्थी अवस्थाबाटै प्रजातान्त्रिक आन्दोलनमा क्रियाशील श्रेष्ठ २०३६ को जनमतसंग्रह, २०४२ को सत्याग्रह, २०४६ को जनआन्दोलन र २०६२–६३ को दोस्रो जनआन्दोलनका सक्रिय सहभागी थिए । लोकतन्त्र स्थापनाको आन्दोलन र शान्ति प्रक्रिया अघि बढाउने कार्यमा उनले अग्रपंक्तिमा रहेर काम गरेका थिए ।

    भोली बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म पार्थिव शरीर पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने कार्यवाहक मुख्यसचिव कृष्ण प्रसाद दुलालले जानकारी दिए । त्यसपछि शवयात्रासहित उनको पार्थिव शरीर पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरिने कांग्रेसले जनाएको छ।

  • १२ श्रावण २०८३, मंगलवार १६:०३ प्रकाशित