पोखरा, १२ साउन । कास्की क्षेत्र नं. २ का संघीय सांसद उत्तमप्रसाद पौडेलले पोखराका सुकुम्बासीलाई घरघरमा लालपुर्जा वितरण गर्ने बताएपछि पोखराका मेयर धनराज आचार्यले सामाजिक सञ्जाल मार्फत खुला पत्र लेखी आपत्ति जनाएका छन् ।
सोमबार एक कार्यक्रममा बोल्दै राष्टिय स्वतन्त्र पार्टी रास्वपाबाट निर्वाचित सांसद पौडेलले भूमिहीन दलित, अव्यवस्थित बस्ती र सुकुम्बासीलाई एकैपटक तथा आफ्नै सरकारको पालामा लालपुर्जा विरतणका साथै अस्पताल तथा विद्यालयसहित व्यवस्थित बस्ती निर्माण गर्ने घोषणा गरेपछि मेयर आचार्यले खुलापत्रमार्फत आपत्ती जनाउँदै त्यसका लागि कानुनी प्रक्रियाअघि बढाउन चुनौती पनि दिएका छन्।
यस विषयमा आफूले दिनदिनै भूमि व्यवस्था मन्त्री प्रतिभा रावलसँग कुराकानी गरिरहेको पनि सांसद पौडेलले दाबी गर्दै आफूलाई भोट दिएका जनतालाई विचल्ली हुन नदिने आश्वासन दिएका थिए । पौडेलले सुकुम्बासी बस्ती व्यवस्थापनका लागि रास्वपा पोखरा महानगर सभापति योगेन्द्र केसीसँग समन्वय गर्न आग्रह गरेका थिए।
सांसद पौडेलको भनाईप्रति प्रतिक्रिया दिँदै मेयर आचार्यले स्थानीय सरकार सञ्चालन ऐन अध्ययन गर्न आग्रह गरेका छन्। उनले महानगरले कानुनबमोजिम २० हजार १ सय ६ परिवारलाई पहिल्यै निस्सा वितरण गरिसकेको र लालपुर्जा वितरणको स्पष्ट कानुनी प्रक्रिया रहेको स्पष्ट पारेका छन्।
मेयर आचार्यले भनेका छन्, ‘यदि तपाईंले भनेजस्तै घर–घरमा लालपुर्जा वितरण गर्न सम्भव छ भने, कृपया स्पष्ट योजना सार्वजनिक गर्नुहोस्क-ति समयमा, कुन कानुनी प्रक्रियाअन्तर्गत र कहाँबाट २० हजारभन्दा बढी परिवारलाई लालपुर्जा वितरण गर्नुहुन्छरु त्यसको व्यवहारिक र कानुनी आधार प्रस्तुत गर्नुहोस्। यदि त्यस्तो सम्भव छैन भने, विधिसम्मत रूपमा अघि बढिरहेको पोखरा बसपार्क निर्माण तथा सुकुम्बासी व्यवस्थापन अभियानमा अवरोध सिर्जना नगर्नुहोस्।’






