पोखरा, २० साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले सवारी नियम उल्लंघन गर्ने पोखराका विभिन्न ९ विद्यालयका सवारी चालकलाई कारबाही गरेको छ । सवारी दुर्घटना न्यूनिकरण र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले आइतबार गरेको विशेष चोकजाँचका क्रममा उनीहरु कारबाहीमा परेका हुन् ।
प्रहरीका अनुसार कारबाहीमा पर्नेमा पोखराका केईएफ स्कुल, प्राइम मन्टेश्वरीका, सगरमाथा बोर्डिङ स्कुल, इन्द्र राज्य लक्ष्मी माध्यमिक विद्यालय, आमा एकेडेमी, बिन्ध्यश्वरी माध्यमिक विद्यालय, पोखरा दिप मन्टेश्वरी, फुलबारी मन्टेश्वरी र बेस बोर्डिङ स्कुलका सवारी चालकहरु रहेका छन् । कारबाहीमा परेका चालकलाई ट्राफिक नियमका बारेमा सचेत गराउँदै जरिवाना समेत गरिएको प्रहरीले जनाएको छ ।
विद्यालय बसले क्षमताभन्दा बढी विद्यार्थी बोक्ने र ट्राफिक नियम पालना नगर्ने गुनासो आएपछि चेकजाँचमा कडाइ गरिएको हो । यसअघि पनि ट्राफिक प्रहरी कास्कीले विद्यार्थी बोक्ने सवारी साधनको अवस्था र चालकको सजगताका विषयमा पटकपटक अनुगमन गर्दै आएको थियो ।
सवारी नियम उल्लंघन विरुद्धको कारबाहीलाई प्रभावकारी बनाउन र सम्भावित दुर्घटना कम गर्न स्कुलका सवारीमाथि निगरानी बढाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । नियम विपरीत सवारी चलाउनेलाई कानुन अनुसार कारबाही गर्ने प्रक्रियालाई निरन्तरता दिइने प्रहरीले बताएको छ ।






