पोखरामा ग्याँसको अभाव कायमै
  • जरूवाखबर

  • पोखरा, २७ साउन। पोखरामा खाना पकाउने एलपी ग्याँसको अभाव अझै सहज हुन सकेको छैन । विभिन्न कम्पनीले नियमितरुपमा ग्याँस बजारमा पठाइरहेको दाबी गरिरहँदा पोखरामा भने अझै पनि ग्याँसको अभाव कायमै छ ।

    साउनको पहिलो सातादेखि सुरु भएको ग्यासको अभाव एक महिना बित्नलागि सक्दा पनि सहज हुन नसकेपछि उपभोक्ताहरु मारमा परेका छन् । ग्याँसकै लागि दिनहुँ डिलर अगाडि लाईनमा बस्दा पनि पाउन नसकेको गुनासो धेरै उपभोक्ताले गरिरहेका छन् भने कतिपय उपभोक्ता लामो समयदेखि आफुले किनिरहेका पसलमा ग्याँस आउने पर्खाइमा छन् ।

    विभिन्न ग्याँस कम्पनीहरूले गत वर्षहरुभन्दा बढी परिमाणमा ग्याँस आपूर्ति भइरहेको दाबी गरेका छन् । उपभोक्ताले नै कृतिम अभाव सिर्जना गरेको ग्याँस कम्पनीहरुको आरोप छ । उनीहरु उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर भण्डारण गरेकाले बजारमा अभाव देखिएको बताईरहेका छन्। तर विगतको तुलनामा बढी ग्याँस बजारमा पठाइए पनि उपभोक्ताको लाइन भने घटेको छैन ।

    गृहलक्ष्मी ग्याँस कम्पनीका महाप्रबन्धक भीम लामिछानेले साउन महिना ग्याँसको खपत कम हुने समय भए पनि यस वर्ष गत वर्षको तुलनामा बढी सिलिन्डर बजारमा पठाउँदा पनि अभाव देखिनुको मुख्य कारण उपभोक्ताले ग्याँस भण्डारण गर्नु रहेको दावी गर्छन् । गृहलक्ष्मी ग्याँस कम्पनीले गत आर्थिक वर्षको साउन महिनामा कास्कीमा ३७ हजार सिलिन्डर बिक्री गरेकोमा यस वर्ष साउन महिनाको २५ गतेसम्म ४७ हजार सिलिन्डर पोखरा पठाइसकेको जनाएको छ । ‘चाडपर्व नजिकिँदै गर्दा पछि अभाव हुन्छ कि भन्ने चिन्ताले उपभोक्ताले खाली सिलिन्डरसमेत भरेर राख्दा अहिले समस्या देखिएको हो’ उनले भने ।

    सरकारले मध्यपूर्वको तनावपछि ग्याँस आपूर्तिलाई व्यवस्थापन गर्न करिब चार महिनासम्म बजारमा आधा सिलिन्डर ग्याँस पठाउने निर्णय गरेको थियो । आधा सिलिन्डर बिक्री हुँदा बजारमा सहज अवस्था रहे पनि पूरा सिलिन्डर बिक्री सुरु भएपछि माग एक्कासि बढेको बताईन्छ ।

    पोखरामा गृहलक्ष्मीसहित, शक्ति, बाबा, जानकीलगायतका ग्याँस कम्पनीका सिलिन्डर बिक्री हुँदै आएको छ ।

    कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले भरीएको सिलिन्डर वितरण सुरु भएपछि देशभर ग्याँसको माग एकैपटक बढेको र बजारमा केही समस्या सिर्जना भएको बताउँदै बढ्दो माग र आपूर्तिबिच सन्तुलन कायम गर्न आपूर्ति तथा वितरण प्रणालीलाई प्रभावकारी बनाउने गरी काम भइरहेको जानकाराी दिदै उनले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्याँस सिलिन्डर भण्डारण नगर्न आग्रह गरे ।

    प्रशासनले ग्याँस आपूर्ति सहज बनाउन र उपभोक्ताको सास्ती कम गर्न पछिल्लो समय किराना पसलबाट समेत ग्याँस बिक्री गर्ने व्यवस्था मिलाएको जनाएको छ । प्रशासनले जिल्लामा पर्याप्त एलपी ग्याँस आपूर्ति सुनिश्चित गर्न जिल्लाभित्र र बाहिर रहेका ग्याँस उद्योग तथा नेपाल आयल निगमसँग समन्वय गरिरहेको जनाएको छ ।

    जानकीले पोखरामा आजमात्रै तीन हजार ५०० सिलिन्डर पर्ठाएको र बताउँदै बरालले भने बजारमा त्यस्तो अभाव हुनुपर्ने अवस्था होइन । मौज्दातका कारण समस्या देखिएको हो”

  • २७ श्रावण २०८३, बुधबार १९:४३ प्रकाशित