पोखरा, ३० साउन । पोखरा महानगरपालिका वडा नं २६ सक्नेरीस्थित भगवती हाइड्रोपावर नजिकैबाट विजयपुर खोला तर्ने क्रममा खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा पोखरा-१४ छिनेडाँडाका १६ वर्षिय निक्सन गुरुङ र पोखरा-१४ चाउथेका १५ वर्षिय यमन राई रहेका छन् । केही साथीहरु मिलेर खोलापारी गएको र फर्किने क्रममा करिव १ बजेतिर दुईजनालाई बगाएको कास्की प्रहरीले जनाएको छ ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले अनुसार गुरुङ स्याङ्जा जिल्ला बिरुवा गाउँपालिका–७ घर भई हाल पोखरा–१४ छिनेडाँडास्थित आर्मी पल्टनमा बस्दै आएका चन्द्रबहादुर गुरुङका छोरा हुन् भने राई खोटाङ घर भई चाउथेमा बस्दै आएका थिए ।
बेपत्ता बालकहरुको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली गोताखोरसहित परिचालित भएको ईलाका प्रहरी कार्यालय सिसुवाका ईञ्चार्ज प्रहरी नायव उपरीक्षक गुणराज बुढाथोकीले जानकारी दिए ।
अविरल वर्षापछि बिजयपुर खोला बढेकाले खोजीमा समस्या उत्पन्न भएको कास्की प्रशासनले जनाएको छ ।






