आगजानीबाट मालपोत कार्यालय कास्कीका सबै कागजात नस्ट

जग्गा दावी गर्न कागजातसहित जग्गाधनीलाई उपस्थित हुन सूचना जारी

  • जरूवाखबर

  • पोखरा । मालपोत कार्यालय कास्कीले जेनजी आन्दोलनकारीको तोडफोड र आगजनीबाट कार्यालयको सबै कागजात जलेर नष्ट भएपछि जग्गाधनी आफैले कागजात पेस गरेर आफ्नो जग्गा प्रमाणीत गर्नुभर्ने सूचित गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै दर्ता स्रेस्ता कायम गर्न कागजातसहित उपस्थित हुन सबैलाई सूचित गरेको हो ।

    सेवा सुचारु गर्नुभन्दा पहिला नै नष्ट भएका जग्गाधनी दर्ता स्रेस्ता कायम गर्नुपर्छ, त्यसका लागि जग्गाधनी आफै उपस्थित हुनुपर्ने मालपोत कार्यालयले जनाएको छ ।

    जारी सूचनामा स्रेस्ता कायम गर्न जग्गा रहेको स्थानीय तहबाट भोगसम्बन्धी किटानी सिफारिस र जग्गाधनी यकिन गर्न स्थायी ठेगाना भएको स्थानीय तहको जग्गाधनीको तीनपुस्ते खुलेको फोटो टाँस सहितको किटानी सिफारिस बुझाउनुपर्छ । यस्तै, स्थलगत सर्जमिन मुचुल्का, नागरिकताको प्रमाणपत्र, जग्गाधनीसँग भएको सक्कल पुर्जा, पारित लिखत, जग्गा रोक्का भएमा रोक्का राख्ने निकायको सहमति पत्र पनि बुझाउनुपर्ने कार्यालयले जनाएको छ ।

    यसबाहेक चालु आर्थिक वर्षमा मालपोत बुझाएको रसिद, प्लट रजिस्टर, फिल्डबुक र नक्सा, ३५ दिने सार्वजनिक सूचना, गुठी जग्गाको हकमा गुठी संस्थानको सहमतिपत्र पनि बुझाउनुपर्छ ।

    यसैबीच मालपोत कार्यालयका निमित्त प्रमुख शोभाखर पोखरेलका अनुसार हाल पोखरा महानगरका केही वडाहरूको कागजात सकुसल रहे पनि तीन चौथाइभन्दा बढी कागजात जलेर नष्ट भएको बताए । उनले भने एक चौथाइ कागजात हामीसँग सुरक्षित छन् । बाँकी जलेर नष्ट भए । अब त्यसलाई प्रमाणित गर्न जग्गाधनी आँफै आउनुपर्ने भयो,’ उनले भने, ‘यो दर्ता स्रेस्ता कायम गर्ने प्रयोजनका लागि निकालिएको सूचना हो ।’

    कास्की मालपोतमा ३ लाख हाराहारी सेवाग्राही छन् । आन्दोलनका क्रममा कार्यालय भवनसहित सबै अभिलेख जलेपछि मालपोतको सेवा अहिले बन्द छ ।

  • २२ आश्विन २०८२, बुधबार २०:५४ प्रकाशित