पोखरा, १९ भदौं । पोखरा महानगरपालिका वडा नं १४ प्रगतिटोलका ‘प्रगतिटोल नमुना आमा समुह’ले भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि आर्थिक सहयोग गरेको छ ।
रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट ठुलो जनधनको क्षति भएपछि बाढी पिडितहरुकालागि सहयोग स्वरुप उक्त आमा समुहले १ लाख १ हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको अध्यक्ष शर्मिला श्रेष्ठले जानकारी दिइन् । ‘विपद प्रभावितको राहतका लागि आफ्नो टोल र समुहका दिदिबहिनीहरुसंग रकम संकलन गरी सहयोग गर्ने निर्णय बमोजिम रकम संकलन गरेका हौं’ अध्यक्ष श्रेष्ठले भनिन् ।

अध्यक्ष श्रेष्ठका अनुसार विपदको यो कठिन समयमा नजिकिदै गरेको नेपाली महिलाहरुको पर्व तीजमा गरिने खर्च कटौति गरी पीडित परिवारको राहतमा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको हो ।
बाढीपीडितलाई राहत, उद्धार तथा पुनःस्थापना गर्न सहयोग पुगोस् भन्ने उद्धेश्यले थो्रै भएपनि टोलका दिदिबहिनीहरुसंग राहत कोषमा दाखिला गर्न रकम संकलन गरिएको आमा समुहकी निवर्तमान अध्यक्ष सम्झना भूजेलले जानकारी दिईन् ।






