पोखरा फोटोग्राफर संघको अध्यक्षमा नन्दकला पौडेल

संघको साढे चार दशकको समयावधिमा पहिलो पटक महिला नेतृत्व

  • जरूवाखबर

  • पोखरा, २१ भदौ । पोखरा फोटोग्राफर संघको ४५ औं वार्षिक साधारणसभा तथा २५ औं अधिवेशनले नन्दकला पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

    संघले साढे चार दशकको समयावधिमा पहिलो पटक महिला नेतृत्व पाएको हो। नवनिर्वाचित अध्यक्ष पौडेल २०७२ सालदेखि संघमा आबद्ध थिइन् । उनी यसअघि सदस्य, कोषाध्यक्ष र उपाध्यक्ष पदमा रहेर काम गरिसकेकी छन् ।

    समितिको उपाध्यक्षमा लक्ष्मीपति पौडेल, सचिवमा अग्निधर तिमिल्सिना र कोषाध्यक्षमा राजुप्रसाद तिमिल्सिना चयन भएका छन् ।

    सदस्यहरुमा प्रकाश पौडेल, प्रेम श्रेष्ठ, मिरु लम्साल, चन्द्रप्रकाश ढुंगाना र बबिता पौडेल छन् ।

    कास्की–२ का प्रतिनिधि सभा सदस्य उत्तमप्रसाद पौडेलको प्रमुख आतिथ्यता र निवर्तमान अध्यक्ष भक्त तामाङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    सोही अवसरमा संघको तेस्रो ‘फोकस’ स्मारिका विमोचन गरियो । २०४ पृष्ठको स्मारिकामा पोखराको फोटोग्राफी इतिहास, महत्व, चुनौती र फोटो खिच्ने तरिका समेटिएको छ । यसको सम्पादन मण्डलमा घनश्याम पौडेल, दुर्गाप्रसाद पौडेल र विजय नेपाल रहेका छन् ।

    कार्यक्रममा विभिन्न ९ विधामा ५ औं फोटोग्राफी अवार्ड समेत बाँडियो । अवार्डका लागि दुर्गाप्रसाद पौडेलको संयोजकत्वमा जुरी टोली बनेको थियो ।

    विसं २०३९ मा स्थापना भएको यो संस्था नेपालकै सबैभन्दा पुरानो फोटोग्राफर संघ मानिन्छ ।

  • २१ भाद्र २०८३, आईतवार २०:२६ प्रकाशित