पोखरा, २ असोज । लामो समयको प्रतिक्षापछि असोज पहिलो साताबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईमा नियमित उडान सुरु हुने भएको छ । फ्लाई दुबईले असोज ७ देखि दुबई-पोखरा-दुबई उडान सञ्चालन गर्न भएको हो ।
फ्लाई दुबईको एयरबस ३२० जहाज असोज ७ गतेदेखि साँझ ६.१५ बजे पोखरा विमानस्थलमा अवतरण गर्ने र यात्रु तथा कार्गोसहित सोही साँझ ७.१५ बजे दुबईका लागि प्रस्थान गर्ने बताईएको छ ।
पोखरा विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार दुबई विश्वकै प्रमुख हवाई ट्रान्जिट हब भएकाले यस उडानले पोखराको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ । ‘हाल व्यावसायिक उडान नरहेको यस विमानस्थलमा फ्लाई दुबईले दैनिक एक उडान गर्ने गरी असोज ७ गतेदेखि उडान सुरु गर्दै छ’ निरौलाले भने ‘हाल सरकारले पोखरा विमानस्थल सञ्चालनका लागि भूमिस्थ प्रबन्ध सेवामा ५० प्रतिशत र ल्यान्डिङ, पार्किङ र नेभिगेसन शुल्क विसं २०८५ भदौसम्मलाई शतप्रतिशत छुट दिएकाले काठमाडौँको तुलनामा हवाई भाडा सस्तो हुनेछ ।’
दुबई-पोखरा-दुबई उडानलाई दिगो बनाउन सरकार, निजी क्षेत्र र पर्यटन व्यवसायीले संयुक्त प्रयासमार्फत सम्भावित चुनौतीलाई अवसरमा बदल्ने गरी लाग्नुपर्नेमा पोखराका पर्यटन व्यवसायीहरुले जाड दिएका छन् भने युरोप, अमेरिका, क्यानडा, अस्ट्रेलियालगायत विश्वका तीन सयभन्दा धेरै गन्तव्यमा उडान गर्दै आएको फ्लाई दुबई कम्पनीले पोखरामा गर्न लागेको नियमित उडानले यहाँको पर्यटन र व्यापार प्रवर्धनमा नयाँ अवसर खुल्ने विश्वास गरिएको छ ।
सन् २०२३ को जनवरी १ देखि सञ्चालनमा आएको यस विमानस्थलमा सिचवान एयरलाइन्सले ११, हिमालय एयरलाइन्सले २१ र अन्य कम्पनीले १० वटा नियमित तथा चार्टर उडान गरिसकेका छन् । विमानस्थल कार्यालयका अनुसार उक्त उडानमार्फत करिब तीन हजार यात्रुले हवाईसेवा लिएका छन् ।
सन् २०२५ को मार्चमा हिमालय एयरलाइन्सले पहिलो पटक पोखरा–ल्हासा नियमित व्यावसायिक उडान सुरु गरे पनि यात्रु सङ्ख्या न्यून हुँदा गत मार्चदेखि बन्द रहेको छ ।






