पोखरा, २ असोज । पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोट चपाई चौतारामा नवनिर्मित प्रहरी चौकीको नयाँ भवन सञ्चालनमा आएको छ ।
साढे २ करोड रुपैयाँभन्दा बढीको लागतमा निर्मिति उक्त नयाँ भवनको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपेन्द्र घर्ती क्षेत्रीले उदघाटन गरेका हुन् । सो अवसरमा बोल्दै प्रमुख प्रहरी नायव महानिरीक्षक क्षेत्रीले पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण क्षेत्रमा सुरक्षा व्यवस्था मजबुत पार्न प्रहरी चौकीको भूमिका उच्च रहने बताउँदै ‘पछिल्लो समयमा पर्यटकीय हब बनेको सराङकोट क्षेत्रमा प्रहरीलाई शान्ति सुरक्षा कायम गर्न र प्रहरी सेवालाई विस्तृत गर्न कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
सराङकोट क्षेत्रमा शान्ति सुरक्षा सुदृढ बनाउन र प्रहरी सेवालाई अझ विस्तार गर्न नयाँ संरचनाले सहजता ल्याउने भएको छ । २०८१ असार २३ गते निर्माण सम्झौता भई तोकिएको समयमा कार्य सम्पन्न भएको यस योजनाअन्तर्गत कार्यालय भवन, मेश भवन, शौचालय, प्रतिक्षालय, गेट तथा पेरिमिटर पर्खाल निर्माण गरिएको छ ।
गण्डकी प्रदेश सरकारको स्वीकृत बजेटबाट २ करोड ४० लाख ४५ हजार ९८३ रुपैयाँ ६३ पैसाको कुल लागतमा निर्माण सम्पन्न भएका भौतिक संरचनाहरुको बिहीबार उद्घाटन गरिएको हो ।
कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, पत्रकार, विभिन्न संघसंस्थाका प्रतिनिधि, सामुदायिक सेवा केन्द्र, आमा समूह, टोल विकास संस्थाका अध्यक्ष एवं पदाधिकारी, बुद्धिजीवी र स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।






