पोखरा, ३ असोज । तमु धिं नेपालको आगामी ३ वर्षे कार्यकालका लागि अध्यक्ष सुवेदार मेजर श्रीप्रसाद गुरुङलगायत सम्पूर्ण पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।
असोज ९ र १० गते पोखरामा हुने ४२ औँ वार्षिक साधारणसभा तथा १७ औँ महाधिवेशनका लागि शनिबार तोकिएको मनोनयन समयमा सबै पदमा एकल उम्मेदवारी परेपछि नयाँ नेतृत्व सर्वसम्मत बनेको हो । प्रमुख निर्वाचन अधिकृत शंकर गुरुङका अनुसार आधिकारिक घोषणा भने असोज ९ गते नै गरिने छ ।
नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा गीमाया गुरुङ, प्रथम उपाध्यक्षमा अधिवक्ता जुनाकुमारी गुरुङ र द्वितीय उपाध्यक्षमा गोपाल गुरुङ निर्विरोध चयन भएका छन् । त्यसैगरी महासचिवमा कृष्णकुमार गुरुङ, सचिवमा श्रीजंग गुरुङ, सहसचिवमा बालकुमारी गुरुङ, कोषाध्यक्षमा जगतबहादुर गुरुङ र सहकोषाध्यक्षमा काशीमाया गुरुङको एकल मनोनयन दर्ता भई सर्वसम्मत निर्वाचित भएका हुन् ।
२०४२ साल जेठ ५ गते स्थापना भएको यस संस्थाको १७ औँ महाधिवेशन गराउन संस्थापक उपाध्यक्ष शंकर गुरुङको संयोजकत्वमा पूर्वउपाध्यक्ष अधिवक्ता अनिता गुरुङ, पूर्वमहासचिव रुद्रकुमारी गुरुङ मैना, संरक्षक परिषदका सहसंयोजक मेजर लक्ष्मीप्रसाद गुरुङ र समाजसेवी क्याप्टेन चन्द्रप्रसाद गुरुङ सम्मिलित निर्वाचन समिति गठन गरिएको थियो ।






