देशैभर रेड अलर्ट: २४ घण्टामा लुम्बिनी र गण्डकी प्रदेशमा भारी वर्षा
  • जरूवाखबर

  • काठमाडौं । अण्डमान सागरबाट सुरु भई बङ्गालको खाडीमा विकसित भएको शक्तिशाली न्यूनचापीय वायु प्रणालीको असरले बिहीबार बिहानदेखि नै देशैभर भारी वर्षा भइरहेको छ। मनसुनी वायुका साथै भारतको ओडिसा र आन्ध्र प्रदेश तटपार गरी उत्तर-पश्चिम सर्दै गरेको गहिरो न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरैजसो भूभागमा वर्षा भएको हो।

    विगत २४ घण्टामा लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न जिल्लाहरूमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    विभागका अनुसार सबैभन्दा बढी पाल्पाको गल्ड्याङगढीमा १ सय ५५ मिलिमिटर वर्षा मापन गरिएको छ भने रूपन्देहीको भगवानपुरमा १ सय ५३, कपिलवस्तु र अर्घाखाँचीमा १ सय ४५, दाङको कोइलावासमा १ सय २ तथा तनहुँ र स्याङ्जामा करिब १०० मिलिमिटर वर्षा भएको छ।

    यसैगरी बागमती र कोशी प्रदेशका धेरै भागहरूमा भारी वर्षा भएको छ। मौसम विज्ञान विभागका हाइड्रोलोजिस्ट इन्जिनियर सचित कर्माचार्यका अनुसार दिनभरिको मोडल हेर्दा आगामी २४ घण्टामा पनि पानीको प्रकृति यस्तै रहने देखिन्छ।

    लुम्बिनीका तराई क्षेत्र खासगरी पाल्पा र कपिलवस्तुमा भारी वर्षाको सम्भावना छ। राजधानीलगायत क्षेत्रमा भने बिहीबारकै प्रकृतिको वर्षा हुने अनुमान छ। यद्यपि नदी किनारमा सतर्कता अपनाउनुपर्ने उनले बताए।

    गहिरो न्यूनचापीय प्रणाली र मनसुनी वायुका कारण देशैभर, विशेषगरी लुम्बिनी र गण्डकी प्रदेशका साना-ठूला नदीहरूमा बाढी आउने तथा जलसतह खतराको तहसम्म पुग्ने उच्च जोखिम रहेको छ। शुक्रबार र शनिबार राति भारीदेखि अति भारी वर्षाको पूर्वानुमान रहेकाले नारायणी, पश्चिम राप्ती, बबई, काठमाडौं उपत्यकाका खोलाहरूलगायत नदी तटीय तथा भिरालो जमिन आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन विभागले अपिल गरेको छ।

    यसैबीच लगातार भईरहेको वर्षाका कारण हुन सक्ने सम्भावित बाढी-पहिरोको जोखिम घटाउन स्थानीय प्रशासनहरूले पूर्वसावधानी अपनाउन सूचना जारी गरेका छन्। कास्की, दाङ, इलामलगायतका जिल्लाहरूमा साँझदेखि बिहानसम्मका लागि रात्रिकालीन सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ।

    कान्ति लोकपथ पहिरोका कारण अवरुद्ध भइसकेको छ भने नारायणगढ–मुग्लिन सडक खण्ड तथा अन्य पहाडी राजमार्गमा अत्यावश्यकबाहेक यात्रा नगर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ।

    मौसमविद्हरूका अनुसार, काठमाडौं उपत्यका जस्ता सहरी क्षेत्रमा ५० देखि ८० मिलिमिटर वर्षा हुँदा नै कंक्रिटका संरचना र कमजोर ढल निकास प्रणालीका कारण धोबीखोला, मनहरा र नक्खु कोरिडोर आसपासका भूभाग डुबानमा पर्न सक्छन्।

    पहाडी भेगमा १०० मिलिमिटर नाघ्नेबित्तिकै पहिरो र लेदो बहावको तीव्र जोखिम रहन्छ। विभागले असोज ९ देखि ११ गतेसम्मका लागि चारवटा प्रदेशका जिल्लाहरूमा ‘रेड अलर्ट’ जारी गरेपछि पानीको मात्रा अझै थपिनुअघि नै देशभरको दैनिकी प्रभावित हुन थालेको छ।

    जमिनको बनावट, सहरी ढाँचा र पानी सोस्ने क्षमताका आधारमा वर्षाको मात्राले जोखिमको तह निर्धारण गर्छ। काठमाडौं उपत्यकासहितका सहरी क्षेत्रमा २४ घण्टाभित्र ५० देखि १०० मिलिमिटरसम्म वर्षा हुँदा नै कमजोर ढल निकास र नदी किनार अतिक्रमणका कारण बागमती, विष्णुमती, धोबीखोला र हनुमन्ते आसपासका बस्तीहरूमा आकस्मिक बाढी र डुबान सुरु हुन्छ।

    १०० देखि २०० मिलिमिटरसम्मको भारी वर्षालाई खतराको तह मानिन्छ, जसले झापा, मोरङ, रूपन्देही र कपिलवस्तुलगायत तराई तथा भित्रीमधेसका तल्लो तटीय क्षेत्र र पूर्व–पश्चिम राजमार्ग आसपासका खोलाहरू डुबाउनुका साथै पहाडी भागमा पहिरोको उच्च जोखिम सिर्जना गर्छ।

    यदि वर्षा २०० मिलिमिटरभन्दा बढी पुगेमा त्यो महाविपत्तिको स्थिति बन्छ, जसका कारण कोशी, गण्डकी, नारायणी र कर्णालीजस्ता ठूला नदीहरूमा भीषण बाढी आउने र पहाडी खण्डका राजमार्गहरू पूर्णरूपमा अवरुद्ध हुने सम्भावना रहन्छ।

    विपद् व्यवस्थापनलाई चुस्त बनाउन सरकारले यसपटक ठूला नदीहरूको बाढी पूर्वानुमान अवधि ३ दिनबाट बढाएर ५ दिन र साना खोलाहरूको आकस्मिक बाढीको सूचना अवधि ४८ घण्टाअघि नै दिने प्रविधि प्रयोगमा ल्याएको छ।

  • ९ आश्विन २०८३, शुक्रबार ०९:२५ प्रकाशित