कास्की-२ क्षेत्रीय अधिवेशन: जनजाति निरुत्साहित, केन्द्रको ठाडो हस्तक्षेप-राधाकृष्ण गुरुङ
  • जरूवाखबर

  • पोखरा, १५ असोज । नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर २ को हालै सम्पन्न क्षेत्रीय अधिवेशनमा अपांग क्लस्टरबाट महाधिवेशन प्रतिनिधिमा पराजित राधाकृष्ण गुरुङले जनजाति समुदायलाई सहयोग नगरेको आरोप लगाएका छन्।

    १३औं र १४औं महाधिवेशनमा लगातार महाधिवेशन प्रतिनिधि निर्वाचित हुदै आएका उनले पार्टी समावेशी हुनुपर्नेमा जनजातिलाई निरुत्साहित बनाउने कार्य भएको आरोप लगाएका हुन् । गुरुङले भने ‘अधिवेशनमा अपांग क्लस्टरबाट प्रतिनिधित्व सुनिश्चित गर्ने प्रयासलाई पर्याप्त सहयोग नमिलेको र जनजाति उम्मेदवार तथा समर्थकहरूलाई निरुत्साहित गरिने काम भयो ।’

    गुरुङले आफ्नो प्रतिक्रियामा जरुवा खबरसंग भनेका छन्- ‘कांग्रेसमा नारा मात्र बदलिएको छ, शैली भने अहिले पनि अतिवादी नै छ। यो पालीको अधिवेशनमा कास्कीमा जनजातिलाई निरुत्साहित बनाउने काम भयो। केन्द्रबाट ठाडो हस्तक्षेप भयो।’

    उनी कांग्रेसको विशेष महाधिवेशन पक्षधर हुन् भने २०३६ सालको जनमत संग्रहमा निलोमा छाप हानेका पुराना कांग्रेसकर्मी पनि हुन्।

    कास्की-२ को यो क्षेत्रीय अधिवेशनपछि पार्टीभित्र जनजाति र अपांग समुदायको प्रतिनिधित्वसम्बन्धी बहस चर्किएको छ। गुरुङको पराजय र उनले लगाएका आरोपले स्थानीय स्तरमा कांग्रेसको आन्तरिक लोकतन्त्र र समावेशिताको विषयलाई फेरि चर्चामा ल्याएको छ भने कांग्रेसको आन्तरिक लोकतन्त्र र समावेशी अभ्यासमाथि प्रश्न उठेको छ।

    ‘समाचार स्रोत: राधाकृष्ण गुरुङसँगको कुराकानीमा आधारित’

  • १५ आश्विन २०८३, बिहीबार १२:२६ प्रकाशित