पोखरा, २३ असोज। पोखरा महानगरपालिका वडा नम्बर २८ कालिकास्थित ओख्लेको भिरमा भएको कालिका बोर्डिङ स्कूल बस दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पोखरा महानगरपालिकाले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।
पोखरा महानगरपालिकाका नगरप्रमुख एवं नगर शिक्षा समितिका अध्यक्ष धनराज आचार्यले दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन छानबिन समिति गठन गरिएको जानकारी दिए। समितिको संयोजकमा वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदी रहेका छन्।
त्यसैगरी समितिका सदस्यहरुमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई रहेका छन्।
गठित समितिले दुर्घटनाको कारण र घटनासँग सम्बन्धित विषयहरुको विस्तृत अध्ययन तथा छानबिन गरी सत्यतथ्यसहित ५ दिनभित्र प्रतिवेदन पेस गर्नेछ।
यसका साथै समितिले विद्यालयका सवारीसाधनको सुरक्षा, विद्यार्थीको सुरक्षित आवागमन र आगामी दिनमा अपनाउनुपर्ने सावधानीका सम्बन्धमा आवश्यक सुझावसमेत पेस गर्ने जनाइएको छ।
माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आउँदै गरेको बस ओख्लेको भिरमा दुर्घटनामा परेको थियो। विद्यार्थी, चालक र सहचालकसमेत गरी २२ जना सवार उक्त बस दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ।
दुर्घटनामा परी घाइते भएकाहरुको हाल विभिन्न अस्पतालमा उपचार भइरहेको छ।






