पोखरा, ६ कार्तिक । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु भएको फ्लाईदुबईको नियमित दुबई उडानले एक महिना पूरा गर्दा उत्साहजनक नतिजा देखाएको छ। यो एक महिनामा जम्मा ६ हजार ६२ यात्रुले यस रुटबाट यात्रा गरेका छन्।
सेप्टेम्बर २३ देखि अक्टोबर २३ सम्ममा फ्लाईदुबईको उडान मार्फत ६ हजार ३ सय ६२ यात्रुले यात्रा गरेको विमानस्थल जानकारी दिएको छ ।
एक महिनामै ६ हजारभन्दा बढी यात्रुले यात्रा गर्नुले यस रुटको माग बलियो रहेको संकेत गरेको छ। पर्यटन व्यवसायीहरूले यसलाई पोखराको अन्तर्राष्ट्रिय पहुँच विस्तारको महत्वपूर्ण उपलब्धि बताएका छन्।
पोखरा-दुबई हवाई सम्पर्कलाई निरन्तरता दिने प्रतिबद्धता स्वरूप फ्लाई दुबईले सन् २०२७ अक्टोबर सम्मकालागि टिकट बुकिङ खुला गरेको छ । यसले उडान दीर्घकालीन रूपमा सञ्चालन हुने आशा बढाएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको करिब चार वर्षपछि नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको यो रुटले पर्यटन र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
विमानस्थलका अनुसार दुबईबाट पोखरा आउने यात्रुको संख्या ४ हजार ५ सय २१ र पोखराबाट दुबई जाने यात्रुको संख्या १ हजार ८ सय ४१ रहेको छ ।
एक महिनाको तथ्याङ्कअनुसार दुबईबाट पोखरा आउने यात्रुको प्रति उडान औसत करिब १५१ र पोखराबाट दुबई जाने यात्रुको औसत करिब ६१ रहेको छ । दुवैतर्फ गरी प्रतिउडान औसत करिब १०६ यात्रुले यात्रा गरेका छन् ।
यसले पोखराबाट अन्तर्राष्ट्रिय उडानको निरन्तरताप्रति आशा जगाउनुका साथै पोखराको पर्यटन, व्यवसाय र अन्तर्राष्ट्रिय आवागमनमा थप सहजता ल्याउने पोखरा महानगरपालिका मयेर धनराज आचार्यले विश्वास व्यक्त गरेका छन् ।






