पोखरा । मंगलबार बिहानै उदाँउदो सूर्यलाई अर्घ्य अर्पण गरे लगतै यस वर्षको छठ पर्व सम्पन्न भएको छ । उदाउदो सूर्यलाई अध्र्य अर्पण गर्न ब्रतालुहरु पोखराका विभिन्न क्षेत्रका घाट तथा नदीमा पुगेका थिए ।
मौसम परिवर्तनसंगै बिहानदेखि आकाशमा बादल ढाकेकोले घडीको समयको आधारमा अर्घ्य दिएका थिए । उनीहरूले घडीको समय हेरेर सूर्य उदयको आँकलन गर्दै ब्रतालु जलाशयमा बनाएका घाट पुगेका थिए ।
चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिनसम्म मनाइने चैते छठ पर्वको पहिलो दिन नुहाएर चोखो भई खाने विधिलाई ‘नहाय–खाय’ भन्ने गरिन्छ ।भगवान् सूर्य देवको उपासना गरिने छठमा ब्रतालुले ब्रत सङ्कल्प गरेको भाकल अनुसारको केरा, उखु, भान्टा, दुध, माटोको हात्ती, ढकनी, चढाउने परम्परा रहेको छ ।
छठ पर्वको मुख्य दिन मानिने षष्टि तिथिका दिन एक बिहानै नुहाईधुवाई गरी निराहार ब्रत बसेका ब्रतालुले बेलुका अस्ताउँदो सूर्यलाई कम्मरसम्म छोप्ने जलाशयको पानीमा उभिएर अर्घ्य दिने परम्परा रही आएको छ ।
यसरी उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ विधिवत रुपमा सम्पन्न हुन्छ ।






