पोखरा । शान्ति समाज पोखरा १० रामघाटले आफ्नो ३१ औं स्थापना दिवस तथा वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाएको छ ।
समाजलाई आर्थिक सहयोग पुर्याउने व्यक्तित्वहरुलाई सम्मान, विभिन्न शैक्षिक तह पार गरेका समाजका सदस्यहरुका छोराछोरीलाई सम्मान लगायतका कार्यक्रमका साथ समाजले आफ्नो स्थापना दिवस तथा वार्षिकोत्सव मनाएको हो ।

समाजका संरक्षक एवम् जेष्ठ नागरिक क्या.कुमानसिंह गुरुङको प्रमुख आतिथ्यता र समाजका अध्यक्ष डब्लुओटु पितमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आमा समुह अध्यक्ष तारा गुरुङ, समाजका प्रथम उपाध्यक्ष लोकबहादुर गुरुङ लगायतले आ आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा बोल्दै समाजका जेष्ठ नागरिक एवम् समाजका संरक्षक क्या.कुमानसिंह गुरुङले समाज स्थापनाका दिनहरुको स्मरण गर्दै एकता र समन्वयका साथ अगाडि बढेकै कारण समाजले सफलतापूर्वक ३१औं स्थापना दिवस मनाउन सफल भएको बताए ।
अध्यक्ष डब्लुओटु पितमबहादुर गुरुङले समाजलेपरिवारका सदस्यहरुको हरेक काममा हातेमालो गर्दै एउटै परिवारको अनुभुति दिलाउन सक्नु नै गौरवको पक्ष भएको बताए । उनले आउँदा दिनहरुमा पनि सबैको सहयोग र सहकार्यको आवश्यकता समेत औल्याए ।
कार्यक्रममा समाजका सचिव कृष्णप्रसाद गुरुङले सचिवको कार्य प्रगति प्रतिवेदन र कोषाध्यक्ष सु्. नन्द गुरुङले कोषाध्यक्ष्यको आर्थिक प्रतिवेदन र आमा समुह कोषाध्यक्ष बुद्धिमाया गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विभिन्न शैक्षिक तह उत्तिर्ण गरेका समाजका सदस्यहरुका छोराछोरीहरु समिक्षा गुरुङ, सिमोन गुरुङ र गरिमा गुरुङलाई प्रशंसापत्र सहित सम्मान गरिएको थियो ।
वि.स.२०५१ सालमा जन्मथलो छाडी शहर बसाई सराई गरी आएपछि आईपर्ने सामाजिक एवम् साँस्कृतिक समस्याहरुलाई सहज रुपमा समाधान गर्न समाजको स्थापना गरिएको हो । समाजमा स्याङजा, कास्की र पर्वत जिल्लाका विभिन्न क्षेत्रबाट पोखरा महानगरपालिकामा बसाई सराई गरी आएका ४३ घरपरिवार आबद्ध छन् ।








