पोखरा। पोखरा बहुमुखी क्याम्पसको ३९ औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३२ युनिट रगत संकलन भएको छ ।
वार्षिकोत्सवको अवसर पारी मंसिर ७ गते देखि शुरुभएको सप्ताहव्यापी कार्यक्रम अन्तरगत विहीबार आयोजित रक्तदान कार्यक्रममा ३२ युनिट रगत संकलन भएको हो।

क्यामपस प्रमुख शिशुकाला पराजुलीका अनुसार क्याम्पसले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गर्दै आएको छ।
रक्त सञ्चार केन्द्र रामघाट पोखराको प्राविधिक सहयोग र क्याम्पसका विद्यार्थी, प्राध्यापक, कर्मचारी लगायत सर्वसाधारणको सहभागितामा सम्पन्न कार्यक्रममा संयोजक दिपकप्रसाद घिमिरेले सहभागी सम्पूर्णलाई सहयोग र समन्व्यका लागि आभार व्यक्त गरेका थिए ।

सप्ताहव्यापी कार्यक्रममा निबन्ध लेखन प्रतियोगिता, एक मिनेट वक्तृत्वकला, तथा खेलकुद अन्तर्गत टेबलटेनिस, भलिबल र बास्केटबल प्रतियोगिताहरू सम्पन्न भईसकेका छन् ।
यसैगरी मंसिर १२ गते सरसफाई कार्यक्रम , मंसिर १३ गते मानव सेवा आश्रम हेम्जा शाखालाई आर्थिक सहयोग हस्तान्तरण र मंसिर १४ गते वार्षिकोत्सव विशेष समारोह आयोजना गरिने क्याम्पस प्रशासनले जनाएको छ ।
विशेष समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण र छात्रवृति वितरण लगायत विविध कार्यक्रम रहेको जनाइएको छ ।







