एमालेले विधान महाधिवेशनबाट पारित विधानका आधारमा नयाँ नेतृत्व चयन गर्ने
  • जरूवाखबर

  • काठमाडौँ । एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा गत भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनबाट पारित विधानका आधारमा नै नयाँ नेतृत्व चयन हुने भएको छ ।

    सचिवालय बैठकले दोस्रो विधान महाधिवेशनको सर्वोच्चतालाई स्वीकार गर्दै यो राष्ट्रिय महाधिवेशनमा १५ सदस्यीय पदाधिकारी र दुई सय ५१ सदस्यीय केन्द्रीय कमिटी नै रहनेगरी आजको बैठकले निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार महाधिवेशनको बन्दसत्रमा विगतको भन्दा फरक अभ्यासका रूपमा हालको सिंगो सचिवालय ९१९ जना० नै अध्यक्षमण्डलका रूपमा रहनेछन् ।

    बैठकले निर्वाचित र पदेन प्रतिनिधिहरू २ हजार १ सय ५४ को पाँच प्रतिशत हुन आउने १०८ सदस्य प्रतिनिधि मनोनयन पनि गरेको छ । उक्त नामावली मंसिर २७ गते शनिबार सार्वजनिक हुनेछ ।

    बैठकले महाधिवेशनबाट पारित गर्नुपर्ने विशेष प्रस्तावका लागि उपमहासचिव ज्ञवालीको संयोजकत्व र माइन्युटटिङका लागि उपमहासचिव पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा कमिटी गठन गरेको छ ।
    सचिवालयले बैठकले हालै नेपाल सरकार र जेनजीका प्रतिनिधिबीच भएको १० बुँदे सम्झौताप्रति गम्भीर आपत्ति जनाउँदै सरकारको कार्यादेश र संविधानविपरीत भएको निष्कर्ष निकालेको उपमहासचिव ज्ञवालीले बताए ।

    यसैबीच महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिनमा नमूना मतदान अभ्यास प्रतिनिधिलाई गराइएको छ । ललितपुर च्यासलस्थित केन्द्रीय कार्यालयमा एमालेले शुक्रबार प्रतिनिधिलाई विद्युतीय भोटिङ मेसिनमा मतदान गर्न सिकाउनका लागि नमूना मतदान अभ्यास गराएको हो ।

    एमालेको महाधिवेशनमा दुई हजार ४०० प्रतिनिधि सहभागी हुँदैछन् । महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ । महाधिवेशनको बन्दसत्र भने भृकुटीमण्डपमा हुनेछ । रासस

     

  • २७ मंसिर २०८२, शुक्रबार २१:१८ प्रकाशित