युवा पत्रकारिता पुरस्कारबाट पत्रकार ‘सुमन’ सम्मानित
  • जरूवाखबर

  • पोखरा। पोखराका युवा पत्रकार धनबहादुर गुरुङ ‘सुमन’ मेजर लक्ष्मीप्रसाद र हुमकुमारी गुरुङ युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।

    आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीद्वारा आयोजित एक कार्यक्रममा फोनिजका संघीय सचिव एमबी आस्थामगरले पत्रकार गुरुङलाई  नगद र समानपत्रसहित सम्मान गरेका हुन् ।

    सम्मान पश्चात बोल्दै गुरुङले पत्रकारिता क्षेत्रमा लाग्नका लागि प्रेरणा मिलेको बताए। ‘पत्रकारिता केवल पेशा होइन, चुनौती हो, विविध अवरोधका बीच सत्यलाई उजागार गर्नु पर्छ’ उनले भने, ‘तर आज यो सम्मानले मलाई भन्छ अझ दृढताका साथ अघि बढ्न प्रेरित गरेको छ ।’

    फोनिजका संघिय सचिव एमबी आस्थाले पुरस्कारले पत्रकारिता क्षेत्र धारासायी बन्दै गइरहेको अवस्थामा पुरस्कारले हौसला प्रदान गर्ने बताए । ‘पत्रकारिताको बाटो कता जाने हो भन्नेमा अन्योलता छाइरहेको पछिल्लो अवस्थामा समाजका केही प्रतिष्ठित व्याक्तिहरु पत्रकारको हौसलामा हातेमालो गर्न आइदिनुहुँदा खुसी लाग्छ,’ उनले भने, ‘आज मेयर लक्ष्मीप्रसाद गुरुङले आफ्नो वैवाहिक वर्षगाँठको अवसरमा स्थापना गरिदिनुभएको अक्षयकोषले थप बल दिएको छ ।’

    पुरस्कार अक्षयकोषदाता मेजर लक्ष्मीप्रसाद गुरुङले धेरै अक्षयकोष स्थापना गरिसकेको अवस्थामा पछिल्लो समय पत्रकारहरुसँग पनि जोडिन पाउँदा खुसी लागेको बताए । आगामी दिनमा अक्षयकोष वृद्धि गर्दै पुरस्कार राशी बढाउने उनको प्रतिवद्धता थियो ।

    कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछाने, फोनिजका संघिय सल्लाहकार शान्ति गुरुङ, फोनिज गण्डकी र कास्कीका सल्लाहकार हुमबहादुर गुरुङ लगीयतल् आ आफ्नो भनाई राखेका थिए ।

    वि.सं. २०६८ सालमा रेडियो सराङकोटबाट कार्यक्रम प्रस्तोता र हिमचुली एफएमबाट प्राविधिकका रूपमा सञ्चार क्षेत्रमा प्रवेश गरेका सम्मानित गुरुङ समाधान दैनिक, एबिसी टिभी र राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत छन् । भने उनी नेपाल पत्रकार महासंघ कास्कीमा सह–सचिव, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीमा उपाध्यक्ष, नेपाल प्रेस युनियन कास्कीमा सचिव र नेपाल फोटो पत्रकार संघ कास्कीमा सचिव पदमा आवद्व छन् ।

  • ५ मंसिर २०८२, बिहीबार २०:१२ प्रकाशित