पोखरा। आजदेखि एक महिनासम्म चल्ने ‘श्री स्वस्थानी व्रत’ तथा ‘माघ स्नान’ सुरु भएको छ ।
वैदिक सनातन धर्मावलम्बीले घरघरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर यी देवीदेवताको पूजा आराधना सुरु गर्दै छन्।
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म श्रद्धा र भक्तिपूर्वक मनाइने यो पर्व अन्तर्गत आजदेखि घरघरमा स्वस्थानी माताको कथा वाचन र शक्तिपीठहरूको उपासना गर्दै प्रारम्भ भएको हो ।
धार्मिक विश्वास अनुसार सत्य युगमा हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी विष्णुको सल्लाहमा गरेको व्रतको स्मरणमा यो परम्परा चलिआएको छ । विशेषगरी सतीदेवीको अङ्ग पतन भएका विभिन्न शक्तिपीठहरूमा देवीदेवताको बास रहने विश्वासका साथ यो महिनामा ती स्थानहरूको दर्शन र पूजा गर्ने गरिन्छ ।
आध्यात्मिक पक्षबाट हेर्दा ‘स्वस्थानी’ को अर्थ ‘स्व’ अर्थात् आफ्नै आत्मा वा आफू बसेको स्थानकी देवी भन्ने बुझिन्छ।उत्तरायणपछिको समय ध्यान र योगका लागि उपयुक्त हुने भएकाले आफ्नो आत्माको शुद्धीकरण र परमात्मासँगको सम्पर्कका लागि यो समय सर्वोत्तम मानिन्छ ।
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत् हुन्छ। बिहान माघ स्नान गरी मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरिन्छ।
बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ। कुल परम्पराअनुसार कथावाचन भने कसैले बिहान त कसैले बेलुकी गर्छन्।






