काठमाडौँ । ११ औँ राष्ट्रिय महाधिवेशनमा भएको खर्च विवरण सार्वजनिक गर्दै नेपाल कम्युनिष्ट पार्टी एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक शनिबार सम्पन्न भएको छ ।
बैठकमा पार्टीको दोस्रो विधान महाधिवेशन र ११औँ राष्ट्रिय महाधिवेशनले पार्टी विधानमा गरेको संशोधनमा आधारित रहेर पार्टी नियमावलीमा आवश्यक संशोधन र केन्द्रीय सचिवालय बैठकले गरेका निर्णयको अनुमोदन गर्दै सम्पन्न भएको एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीले जानकारी दिए।
बैठकमा ११औँ राष्ट्रिय महाधिवेशनमा भएको खर्च विवरणअनुसार करिब आठ करोड खर्च भएको बताए।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण गरे।
बैठकमा भयरहित वातावरणमा निर्वाचन गराउन ध्यानाकर्षण गराइएको प्रचार विभाग प्रमुख शाहीले बताए। पार्टीले संसद् पुनःस्थापनाको एजेन्डा र निर्वाचनलाई सँगसँगै लैजाने निर्णय गरेकोसमेत उनले जानकारी दिए।
बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष ओलीले महाधिवेशनले ३१ प्रतिशत नयाँ अनुहारलाई नेतृत्वमा ल्याएको बताउँदै ३४ प्रतिशत नेता ५० वर्षभन्दा कम उमेरका रहेका जानकारी दिए।






