पोखरा । कास्की प्रहरीले मादक पदार्थ सेवन ‘मापसे’ गरी स्कूल बस चलाउँदै गरेको अवस्थामा मंगलबार गण्डकी बोर्डिङ स्कूल सहित पाँचवटा विद्यालयका बस चालकहरुलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की र ट्राफिक प्रहरीसहितको संयुक्त टोलीले मंगलबार बिहानेैको समयमा विभिन्न स्थानमा स्कूल बसहरूको विशेष चेकजाँच अभियान चलाएको थियो । सो चेकजाँचका क्रममा चालकहरूले मादक पदार्थ सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई तत्काल नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए ।
पक्राउ पर्ने चालकहरुमा गण्डकी बोर्डिङ स्कूलको बस चालक म्याग्दी घर भई पोखरा महानगरपालिका–१९ लामाचौर बस्ने ३० वर्षिय रोनिश खनाल, रत्न ज्योति बोर्डिङ स्कूलको बस चालक पोखरा महानगरपालिका–८ बस्ने ४२ वर्षिय गोविन्द क्षेत्री, केईएफ बोर्डिङ स्कूलको बस चालक पोखरा महानगरपालिका–१६बाटुलेचौर बस्ने वर्ष ४्र५ का सर्वजित रेग्मी, गुरुकुल विद्यासदन बोर्डिङ स्कूलको बस चालक पोखरा महानगरपालिका–९ बस्ने दलबहादुर सुनार, इमानुयल बोर्डिङ स्कूलको बस चालक पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने ४७ वर्षिय मनबहादुर तामाङ रहेका छन् ।
यसैबीच सोमबार पनि कास्की प्रहरीले चेकजाँचका क्रममा मादक पदार्थ सेवन गरी बस चलाएका पाँच विद्यालयका बस चालकहरुलाई पक्राउ गरेका थिए ।
पक्राउ पर्ने चालकहरूमा कुमुदिनी होम्स बोर्डिङ स्कूलको बस चालक पोखरा महानगरपालिका–४ प्रयासड बस्ने ३९ वर्षीय गोइतम गुरुङ, माउन्ट हेमन बोर्डिङ स्कूलको बस चालक पोखरा महानगरपालिका–२५ बस्ने ३३ वर्षीय आनन्द परियार, बिन्देश्वरी बोर्डिङ स्कूलको बस चालक पोखरा महानगरपालिका–१७ बस्ने ४८ वर्षीय भक्तबहादुर गुरुङ, अञ्जली बोर्डिङ स्कूलको बस चालक पोखरा महानगरपालिका–१६ बस्ने ४५ वर्षीय डम्बर बहादुर गुरुङ तथा एस.ओ.एस. बोर्डिङ स्कूलको बस चालक पोखरा महानगरपालिका–१० रामबजार बस्ने ४६ वर्षीय पदम विक थिए ।

बालबालिकाको सुरक्षासँग प्रत्यक्ष जोडिएको गम्भीर विषयमा भएको यो लापरबाहीले विद्यालयहरूको जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाएको छ भने प्रहरीले पक्राउ परेका चालकहरूमाथि मादक पदार्थ सेवन गरी सवारी चलाएको कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाएको छ ।






