जेन जी उम्मेदवार निर्दोष विक्रमद्धारा उम्मेदवारी फिर्ता, काँग्रेसका उम्मेदवार बाँस्तोलालाई समर्थन
  • जरूवाखबर

  • पोखरा, फागुन ११ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिदै गर्दा कास्की निर्वाचन क्षेत्र नं २ बाट स्वतन्त्र रुपमा जेन जी उम्मेदवार बनेका निर्दोष विक्रम पौडेलले उम्मेदवारी फिर्ता लिएका छन् ।

    उम्मेदवारी फिर्ता लिएर नेपाली कांग्रेसका उम्मेदवार माधव प्रसाद बाँस्तोला ‘मधु’लाई सहयोग गर्ने भएका छन् ।

    सोमबार एक विज्ञप्ती जारी गर्दै पौडेलले आफुले उम्मेदवारी फिर्ता लिएर माधवप्रसाद बाँस्तोलालाई सहयोग गर्ने जनाएका हुन् ।

    जेन जीको सपना, पिडा र भविष्यको आवाज बोकेर कास्की निर्वाचन क्षेत्र नं २ बाट सुरु भएको आफ्नो राजनीतिक यात्रा कुनै लोभमोह वा सत्ताका लागि नभएर पुस्तान्तरण, परिवर्तन र युवाको आत्मसम्मान, अवसर तथा सुरक्षित भविष्यको खोजीका लागि रहेको पौडेलद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

    ‘आजको राजनीतिक परिस्थिति, प्रजातन्त्रको रक्षा र कास्की २ को दीर्घकालिन हितलाई मध्यनजर गर्ने व्यक्तित्व भएकोले इमान्दारी, स्पष्ट दृष्टि तथा युवामैत्री सोच भएका व्यक्तित्व माधवप्रसाद बाँस्तोला मधुलाई समर्थन गर्दछु’ जारी विज्ञप्तीमा उल्लेख छ ।

    प्रजातन्त्रलाई अझ सुदृढ बनाउने र सकारात्मक परिवर्तनलाई बलियो बनाउने उद्देश्यसहित आफुले नेपाली काँग्रेसलाई सशर्त सहयोग गर्ने निणर्य गरेको उल्लेख गर्दै उनले विज्ञप्तीमा भनेका छन् ‘यो सहयोग आत्मसमर्पण होइन, चुप लाग्ने होइन, यदि जनताको आवाज नसुनियो, युवाको भरोसामाथि खेलवाड गरियो, भ्रष्टाचार, दम्भ र सत्ता मोह हावी भयो भने म कलम, आवाज र सडकबाट खबरदारी र विद्रोह गर्न कहिल्यै पछि हट्नेछैन ।’

    आफुले उम्मेदवारी फिर्ता लिए पनि आवाज फिर्ता नलिएको बताउँदै काँग्रेसका उम्मेदवारलाई सहयोग गरेको तर प्रश्न सोध्ने अधिकार नगुमाएको पनि उल्लेख गरेका छन् ।

    विज्ञप्ती मार्फत पौडेलले रुख चिन्हमा मतदान गरी क्षेत्र नं २ का उम्मेदवार माधवप्रसाद बाँस्तोला मधुलाई विजयी गराउन अपिल गरेका छन् ।

  • ११ फाल्गुन २०८२, सोमबार २१:५१ प्रकाशित