पोखरा । पोखरामा एलपी ग्याँस लुकाएर कृत्रीम अभाव सिर्जना गर्ने एक डिलरलाई जरिवाना गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्की सहितको टोलीले अनुगमनका क्रममा ग्याँस लुकाउने र सिलिण्डरबाट ग्यास सारिरहेको अवस्थामा बदमासी गरेको भेटिएपछि पोखरा ६ जरेबरस्थित भण्डारी ट्रेडर्सलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालका अनुसार अनुगमनका क्रममा भण्डारी ट्रेडर्सले १४.२ केजी तौलका ४८ थान ग्याँस सिलिन्डर लुकाएर राखेको पाइएको थियो । सो डिलरले एउटा सिलिन्डरबाट अर्को सिलिन्डरमा सार्दै गरेको अवस्थामा तीन थान उपकरणसहित रंगेहात फेला पारिएको लम्सालले बताए ।
प्रशासनले भण्डारी ट्रेडर्समा फेला परेका १४.२ केजीका ४८ थान र ७.१ केजीका ३८ थान ग्यास सिलिन्डर पहिले आउने उपभोक्तालाई पहिले सेवाको आधारमा बिक्री वितरण गर्न निर्देशन दिएको छ ।
उपभोक्ताको गुनासो र समस्यालाई मध्यनगर गरी अनुगमन गरिएको जिप्रका कास्कीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाल आयल निगम, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी र उपभोक्ता मञ्चका प्रतिनिधि सम्मिलित उक्त संयुक्त टोलीले पोखराका विभिन्न ५ वटा ग्यास डिलरहरूमा छड्के अनुगमन गरेको थियो । जसमध्ये ३ वटा ग्यास डिलरहरुमा ग्यासको मौज्दात र अनुचित भण्डारण नपाइएको प्रशासनले जनाएको छ ।
आगामी दिनमा ग्यासको परिमाणमा फेरबदल गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने र अनावश्यक सञ्चय गर्ने जस्ता उपभोक्ता हितविपरीत कुनै पनि गतिविधि नगर्न सचेत गराइएको लम्सालले जानकारी दिए ।






