नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, सातै प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

Screenshot

  • जरूवाखबर

  • पोखरा । पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको मिश्रित प्रभावका कारण गण्डकी प्रदेश लगायत देशभरको मौसम परिवर्तन भएको छ ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो र राति देशका अधिकांश स्थानमा वर्षा, हावाहुरी र हिमपातको सम्भावना रहेको जनाएको छ। गण्डकी प्रदेशमा बिहानैदेखि झरी पर्नुका साथै उत्तरी हिमाली जिल्ला मनाङ, मुस्ताङ तथा गोर्खाका उत्तरी भेगमा हिउँ परेको जनाइएको छ ।

    महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ। केही स्थानमा असिना र चर्को हावाहुरी चल्ने सम्भावना छ।

    त्यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा वर्षा र चट्याङको पूर्वानुमान गरिएको छ। उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुनसक्नेछ।

    राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश लगायत अन्य प्रदेशका हिमाली भेगमा हल्का हिमपातको सम्भावना छ भने पहाडी भू(भागका एक(दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

    चट्याङ, असिना र हावाहुरीले जनजीवन, कृषि र यातायातमा असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्। विशेषगरी तराई क्षेत्रमा हावाहुरीको जोखिम बढी हुने भएकाले सुरक्षित स्थानमा रहन भनिएको छ।

     

  • ७ चैत्र २०८२, शनिबार ११:५३ प्रकाशित