काठमाडौं। बालबालिका सम्बन्धी कसुरमा लुम्बिनी प्रदेशसभा सदस्य तथा नेकपा एमालेकी नेतृ रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ।
नाबालिकालाई घरेलु कामदारको रुपमा राखी यातना दिएको आरोपमा शर्मालाई आइतबार राति काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो। १४ वर्षीया एक बालिकालाई घरेलु कामदारका रूपमा राखेर शारीरिक यातना दिएको आरोपमा उनीविरुद्ध मुद्दा चलाइएको प्रहरीले जनाएको छ।
घटना करिब दुई वर्षअघिको हो। काठमाडौं महानगरपालिकाले गत वर्ष भदौमा बालबालिकाको अवस्था अध्ययन गर्ने क्रममा यो घटना पत्ता लगाएको थियो। दाङको निम्न आर्थिक अवस्था भएको परिवारकी ती बालिकालाई पढाइदिने भन्दै शर्माको घरमा राखिएको थियो। बालिकाले महानगरपालिकाका इन्टर्न विद्यार्थीहरूसँगको कुराकानीमा ६ वर्षदेखि घर जान नपाएको, अत्यधिक घरेलु काम गर्नुपरेको र नमान्दा लाठी, पाइप तथा हातले कुटपिट गर्ने गरेको बताएकी थिइन्। उनले पोछा लगाउने, पानी भर्ने, भाँडा माझ्ने, खाना पकाउने र बगैंचा सफा गर्नेजस्ता काम गर्नुपरेको उल्लेख गरेकी थिइन्।
इन्टर्न विद्यार्थीहरूले धुम्बाराहीस्थित सामुदायिक विद्यालयमा पुगेर अभिभावकसँग नबस्ने विद्यार्थीहरूसँग अनलाइन फाराम भराएका थिए। सोही क्रममा कक्षा ७ मा पढ्ने बालिकाको जवाफबाट शर्माको घरमा भएको शोषणबारे जानकारी खुलेको हो।
महानगरको टोलीले २०८१ जेठ १४ गते बालिकाको उद्धार गरी सामाजिक संस्थामा राखेको थियो। त्यसपछि महानगरले प्रहरीमा जाहेरी दर्ता गरेको थियो। बालिकाका बुबाले छोरी आफूलाई बुझाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। सर्वोच्चले बालिकाको इच्छा र अभिभावकको सहमतिलाई आधार बनाई उनलाई संस्थामै राख्न परमादेश दिएको थियो। हाल बालिका महानगरको संरक्षणमा संस्थामा बसेर पढाइ जारी राखेकी छन्।
यो घटनामा सुरुमा तत्कालीन सरकारको दबाबमा मुद्दा अगाडि नबढेको आरोप लागेको थियो। काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत सरकारको आलोचना गरेका थिए। शर्माले उच्च अदालतमा धरपकड नगर्न अन्तरिम आदेश मागेकी थिइन्। अदालतले सुरुमा आदेश दिए पनि पछि दाबी नपुग्ने फैसला गर्दै अनुसन्धानको बाटो खोलेको थियो।
प्रहरीका अनुसार नयाँ उजुरी र अदालतको फैसलापछि अनुसन्धान अघि बढेको हो।






