पत्रकार महासंघ स्थापना दिवसः पोखराका तीन पत्रकार पुरस्कृत
  • जरूवाखबर

  • पोखरा । पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्व तथा संस्थालाई सम्मान र पुरस्कार प्रदान गर्दै नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो ७१ औं स्थापना दिवस मनाएको छ ।

    कार्यक्रममा  पोखरा पत्रकारिता सम्मानबाट व्यक्तिगततर्फ पत्रकार राजबहादुर गुरुङलाई र संघसंस्थातर्फ सहारा क्लव पोखरालाई सम्मान गरिएको छ ।

    पत्रकार गुरुङले पत्रकारितामार्फत समाज रुपान्तरणमा भूमिका खेलेको भन्दै सम्मान गरिएको हो भन् सहाराले आहा ! रारा पोखरा गोल्डकपको माध्यमबाट खेलकुद र खेल पर्यटनमा तथा सहारा एकेडेमीमार्फत समाजसेवामा महत्वपूर्ण योगदान दिएको भन्दै सम्मान गरिएको  महासंघ कास्की अध्यक्ष माधव बरालले जानकारी दिए । दुबैलाई नगद ५०/५० हजारसहित सम्मान पत्र र दोषल्ला ओढाएर सम्मान गरिएको थियो ।

    यसैगरी, जगन्नाथ सिग्देल पत्रकारिता पुरस्कारबाट फडिन्द्र अधिकारी र एकराज गिरीलाई पुरस्कृत गरिएको छ । अधिकारी र गिरीलाई जनही २५ः२५ हजार रुपैयाँसहित  ताम्रपत्र र दोषल्ला ओढाएर सम्मान गरिएको अध्यक्ष बरालले बताए ।

    कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भर्खरै सम्पन्न निर्वाचनपछि देशमा सत्तापक्ष बलियो र प्रतिपक्ष कमजोर बनेकाले सरकार निरकुंश हुने खतरा रहेको आशंका व्यक्त गरे। ‘राज्य जब बलियो हुन्छ, निरकुंशता बन्ने खतरा उत्पन्न हुन्छ’ मुख्यमन्त्री पाण्डेले भने ।

    कार्यक्रममा पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, पूर्व अध्यक्षहरु, गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारी, पुरस्कार छनौट समितिका संयोजक कुशुमकेशव पराजुली, पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका अधिकारीलगायतले सम्मान गरेका थिए ।

  • १६ चैत्र २०८२, सोमबार १९:२९ प्रकाशित