सेदीजंगलमा ट्रान्स पार्टी: लागूऔषधसहित नेपाली र विदेशी गरी ३८ जना पक्राउ
  • जरूवाखबर

  • पोखरा, चैत १७ । पोखरा महानगरपालिका–६ सेदीजंगलमा सञ्चालन भइरहेको ट्रान्स पार्टीमा मध्यराती प्रहरीले छापा मार्दा विदेशी नागरिकसहित ३८ जना पक्राउ परेका छन्।

    कृष्ण पराजुलीको पुरानो घर भाडामा लिएर सञ्चालन गरिएको उक्त पार्टीमा गए राति वडा प्रहरी कार्यालय बैदामको टोलीले छापा मारेको हो ।

    प्रहरीले घटनास्थलबाट एमडीएमए, चरेस जस्तो देखिने कालो पदार्थ, कोकिन जस्तो देखिने सेतो धुलो, ‘खात’, आइस ‘एम्फेटामिन’, सायकेडेलिक म्याजिक मसरुम, एलएसडी ‘कागज र तरल रूपमा’ लगायत विभिन्न लागूऔषध बरामद गरेको जनाएको छ। प्रहरी टोली पुग्दा केही बेर विवाद पनि भएको थियो।

    प्रहरीका अनुसार पक्राउ पर्नेमा ३९ वर्षीय भारतीय नागरिक सृष्टि चन्द, पोखरा–६का २७ वर्षीय विशाल परियार, पोखरा–५ प्रस्याङ का २५ वर्षीय आशिष दर्जी, पोखरा–६ का ३२ वर्षीय बमेन्द्र पुन, दाङका २९ वर्षीय सौरभ महरा, भारतका ३५ वर्षीय अनुपम शर्मा, काठमाडौँका २१ वर्षीय निकुञ्ज कार्की, ब्राविलका ४८ वर्षीय चार्लस गुवाईवा, ३१ वर्षीय सक्षम कोइराला, ३१ वर्षकै रोशन अधिकारी, २८ वर्षीय विवेक पोखरेल र २६ वर्षीय सौरभ भनिने लोकबहादुर घर्ती मगर रहेका छन्।

    पक्राउ परेका मध्ये ८ जनालाई लागु औषध र ४ जनालाई अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता हरि बहादुर बस्नेतले जानकारी दिए ।

    प्रहरीले यस्ता अवैध गतिविधिमाथि निगरानी थप कडा पारिएको र दोषीलाई कानुनअनुसार कारबाही गरिने जनाएको छ।

    ट्रान्स पार्टी भनेको साइकेडेलिक ट्रान्स म्युजिकमा आधारित इलेक्ट्रोनिक डान्स पार्टी हो, जसमा युवाहरू ट्रान्स ‘उन्माद’ को अवस्थामा पुग्ने प्रयास गर्छन्।

    यो १९६० को दशकमा भारतको गोवाबाट सुरु भएको मानिन्छ र अहिले विश्वका विभिन्न देशमा प्रचलित छ। नेपालमा भने यो मुख्य रूपमा पर्यटकीय क्षेत्रमा विदेशी र स्थानीय युवाहरूबीच गोप्य रूपमा आयोजना हुने गरेको छ।

    पोखरामा यसअघि पनि यस्ता पार्टीहरू हुँदै आएका थिए। सन् २०१९ ९२०७५ चैतमा खहरे क्षेत्रबाट ४४ जना नेपाली र विदेशी पक्राउ परेका थिए। त्यसभन्दा पहिले २०६९ सम्म फूलबारी रिसोर्टमा नै यस्ता पार्टी हुने गरेको तथ्य सार्वजनिक भएको थियो। हालैका वर्षमा पोखराको विभिन्न जंगल क्षेत्र, चापाकोट, साथै ललितपुरको गोदावरी जस्ता ठाउँमा पनि यस्ता घटना सार्वजनिक भएका छन्।

  • १७ चैत्र २०८२, मंगलवार २०:०२ प्रकाशित